के अब स्नातकमा नेपाली पढ्नेले स्नातकोत्तरमा विज्ञान वा गणित पढ्न पाउलान त?

हालै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली विषय अध्ययन गर्न चाहने विद्यार्थीका निम्ति केही नयाँ तथा पहिलेको तुलनामा केही खुकुलो र उदार मापदण्ड निर्धारण गरेको कुरालाई लिएर सामाजिक सन्जालमा पक्ष र विपक्षमा तर्कवितर्क भइरहेका छन् । यो मापदण्ड त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाली विषय स्थायी समितिको एकल निर्णयले मात्र भएको नभई त्रिभुवन विश्वविद्यालयका विद्या परिषद् स्थायी समिति र प्रज्ञा परिषद् स्थायी समितिसमेतको निर्णयका आधारमा निर्धारण गरिएको देखिन्छ । यस निर्णयलाई लिएर चलिरहेका बहस हेर्दा यी बहस तात्क्षणिक र भावुकताप्रेषित देखिन्छन् । बहस गर्ने विद्वान् र सरोकारवाला सबैले नेपाली भाषासाहित्यको उत्थान, संवर्धन र संरक्षणका निम्ति चिन्तित हुनु जति आवश्यक र महत्त्वपूर्ण छ त्यति नै जरुरी र महत्त्वपूर्ण अस्वस्थ बहसबाट जोगिनु पनि छ ।

नेपाली भाषासाहित्यको शिक्षण गर्ने गराउने काम नेपाली भाषाका वर्णविन्यास, व्याकरण, भाषाविज्ञान र साहित्य-समालोचनाको सिप, दक्षता र सामर्थ्यको विकास गर्न गराउनका निम्ति मात्र गरिने होइन; नेपाली सभ्यता, संस्कृति, मौलिकता र अस्तित्वका निम्ति पनि हो । त्यसैले नेपाली विषयको अध्ययन अध्यापन विद्यालयदेखि विश्वविद्यालयका सम्पूर्ण तहका कक्षाहरूमा अनिवार्य हुनु जरुरी छ ।

जहाँसम्म स्नातक तहमा नेपाली विषय नलिई पढेकाहरूले पनि स्नातकोत्तर तहमा नेपाली विषय लिई पढ्न पाउने कुरा छ, यसमा गम्भीर विमर्श भएरै यो निर्णय लिइएको होला । योभन्दा अघि पनि नेपाली विषय लिएर स्नातक उत्तीर्ण गरेकाहरूले समेत प्रवेश परीक्षा उत्तीर्ण नगरी स्नातकोत्तर तहमा अध्ययन गर्न नपाउने मापदण्ड थियो ।अहिले पनि प्रवेश परीक्षा उत्तीर्ण गर्नै पर्ने प्रवधान राखिएकाले जसले यो मापदण्ड पूरा गर्ने योग्यता देखाउँछ उसले पढ्न पाउनु उचित नै देखिन्छ ।

ज्ञान प्राप्त गर्न स्वाध्ययनबाट पनि सकिन्छ । औपचारिक अध्ययन धेरै गरेकाहरूले पनि अशुद्ध नेपाली प्रयोग गरेको देखिएकै छ भने औपचारिक अध्ययन थोरै भए पनि स्वाध्ययनबाट योग्य भई शुद्ध नेपाली प्रयोग गर्नेहरू पनि देखिएकै छन् । नेपालमा नेपाली भाषा सबैको हो, यसमा अधिकार पनि सबै नेपालीको छ भने यसको उन्नयनको दायित्व पनि सबै नेपालीको हो । स्नातक तह उत्तीर्ण गरेका र प्रवेश परीक्षा उत्तीर्ण गर्न सक्ने सबै नेपालीलाई यो सुविधा दिनु नराम्रो होइन । यस विषयमा चिन्तन अवश्य गरौँ तर विद्वेष नछरौँ ! विश्वविद्यालयले गरेको निर्णयलाई प्राध्यापकको जागिर बचाउने नियत मात्र ठहर्‍याउँदा योग्य र समर्पित तथा इमानदार प्राध्यापकप्रति अन्याय हुन्छ भन्ने विवेक पनि राखौँ ।उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।त्यसो त हालै लागू गरिएको कक्षा दशको पाठ -१ मा समावेश उज्यालो यात्रा कविताका रचयिता समेत रहेका ज्ञवाली उत्कृष्ट कवि समेत हुन् ।कुनैबेला प्लेटोले कविहरु पागल हुन्छन् भनेका थिए रे?महाकवि लक्ष्मीप्रसाद देवकोटा पागल शीर्षकको कविता लेखेरै झन्डै पागलै बने रे ? नेपाली भाषा कसरी शुद्ध लेख्ने भन्नेमा नेपाली विषयमा खासै दक्षता नभएका एक मन्त्रीले समेत ०६९ मा केही समय भाषा विवादित बनाइ दिएका उदाहरण पनि नभएका होइनन् ? अंग्रेजी, गणित,विज्ञान,लेखा, कम्प्युटर लगायतका विषयहरु पढेकाले एजुकेशन नपढेपनि लाइसेन्स दिन पाउने तर नेपाली पढेकाले अनिवार्य मानविकी सङ्कायमा स्नातकोतर गरेको भएपनि शिक्षक शिक्षिका हुन शिक्षा शास्त्र पढेकै हुन पर्ने समेत गराइएको विगतको अवस्था थियो ।जसका कारण कति विद्वत वर्गले यो अधकल्चो सरकारी मातहतका विभिन्न निकाय र पाठ्यक्रमले निर्धारण गरेको निर्णयलाई स्वीकार गरेर जीवनभर सरकारी सेवाबाट बञ्चित हुनुपरेको थियो ।त्यसो त ०५२ सालपछि करीब १२ वर्षको अन्तरालमा मात्र शिक्षक सेवा खुल्नुले पनि तात्कालिक अवस्थाका युवायुवती शैक्षिक बेरोजगारको मारमा परे भन्दा फरक नपर्ला । अहिलेको जुनसुकै विषयको पढाइले नेपाली पढ्न पाउने कुरा सरासर गलत छ । बोर्डिङ स्कूलमा कक्षा ४ मा पढेका विद्यार्थीले खरर पढन सक्ने हुन्छन् । सरकारी विद्यालयको अवस्था हेर्दा स्नातक पढेका विद्यार्थीले खरर अंग्रेजी बोल्न सक्ने अवस्था छैन् नै ।जे होस् राजनीतिशास्त्र अध्ययन नगरेकाहरुले राजनीति गर्नु जसोतसो जायजहोला? कानुन नपढी कानुनमन्त्री हुनु, शिक्षा नपढी शिक्षा मन्त्री हुनु, अर्थशास्त्र नपढी अर्थमन्त्री हुनु पनि ठिकै होला ? त्रिभुवन विश्वविद्यालय जस्तो प्राज्ञिक प्रयोगशालामा राजनैतिक दलको सानो हचुवा निर्णय जस्तो हैन भने सायद सोचेरै त्यसो/यसो निर्णय भएको नै होला । अध्ययन र अध्यापन गतिविधि केही खुकुलो बनाउँदा भाषिक सांस्कृतिक विवाद नआओस् भन्ने नेपाली विद्वानहरुका स्थानीय गुनासाहरु हुन् । जुनसुकै विषय पढेकाले नेपाली र अंग्रेजी मात्र किन? गणित,विज्ञान,कानुन,इन्जिनियरिङ,(डाक्टर)लगायतका विषयमा पनि स्नातकमा अरु जे विषय पढेको भएपनि एक्कासी स्नातकोत्तर सहजै नेपाली अंग्रेजी पढन पाएझैँ पाउनुपर्ने हो कि होइन भन्ने प्रश्न पनि त नउब्जेला भन्न सकिँन्न ?