शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका ९ सय ४० सामुदायिक विद्यालय बन्द

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका ९ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् । केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार यस अवधिमा केही विद्यालय भने मर्ज भएका हुन् । मर्ज गर्दा पनि एउटा विद्यालयको अस्तित्व मेटिने नै हो । स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विद्यालयको गुणस्तर कायम गर्न नक्सांकन गरी प्रतिस्पर्धामा जान नसकेकालाई बन्द गर्न सक्ने अधिकार नियमले दिएको छ । उनका अनुसार सबैभन्दा धेरै अछाममा १२ वटा विद्यालय बन्द भएका छन् ।

निर्देशक पौडेलले देशभरिका कुल ३६ हजार ३२ वटा विद्यालय सञ्चालनमा रहेको जानकारी दिए । त्यसमध्ये एक हजार तीन सय १६ धार्मिक प्रकृतिका र सात हजार तीन सय ७३ निजी विद्यालय छन् । उनका अनुसार सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर्न स्थानीयले पहल गरिरहेका छन् । सरकारले चालु शैक्षिक वर्षदेखि भौतिक सर्वेक्षण र नक्सांकन कार्यक्रम तय गरेको छ । ‘बालबाालिकाको सिकाइ स्तर वृद्धि गर्न विद्यालयको भौतिक सर्वेक्षण र नक्सांकन कार्यक्रम तय भएको छ,’ निर्देशक पौडेल भन्छन्, ‘केन्द्रले कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच करोड बजेट व्यवस्था गरेको छ । अब सार्वजनिक शिक्षा सुधार गर्ने अभियानमा सरकार लागेको छ ।’