सरकारले गर्यो बानेश्वरमा आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आग्रह

काठमाडौं, असोज २३ : सरकारले बानेश्वरमा आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आग्रह गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन ती कर्मचारीलाई आग्रह गरेको हो।

कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शन समेत गर्दै आएको छ।

मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सकारात्मक रहेको भनेको छ।

१५ असोजदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाज समेत रोक्दै आएका छन्।

देशभरका स्थानीय तहमा करिब ६३ हजार दरबन्दी छ । दरबन्दीअनुसार कर्मचारी पदपूर्ति भएको छैन । तर ठूलो संख्याका कर्मचारीले वडास्तरसम्म काम रोक्दा स्थानीय सरकारको सेवा प्रवाहमा प्रभावित छ।किस्ता किस्तामा सरकारले शिक्षक र कर्मचारीको माग पूरा गर्ने प्रयास भने जारी नै राखेको देखिन्छ ।