सरकारले असोज तेस्रो साताबाट दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुपथ पसल सञ्चालनमा ल्याउने

सरकारले असोज तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सरकारले सञ्चालनमा ल्याउन लागेको हो । सुपथ मूल्यका पसल सञ्चालन आएसँगै अब खसीबोका प्रतिकेजीमा १० रुपियाँ छुट दिइने भएको छ ।

नुन प्रतिकेजीमा दुई रुपियाँ, चिनी प्रतिकेजीमा पाँच रुपियाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपियाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ ।

मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरेर खाद्यान्नको मौज्दातको अवस्थाको बारेमा जानकारी लिएको छ । मन्त्रालयले आइतबार सुपथ मूल्य पसल राख्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेसनका प्रतिनिधिलाई बोलाएर खाद्यान्न मौज्दातको अवस्थाको के छ भनेर जानकारी लिएको जनाएको छ । गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ । यो समाचार गोरखा पत्रमा प्रकाशित छ ।