द्रुत बससेवाको उदघाटन बिहान ९ बजे हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उदघाटनको दिन मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र सो गाडीमा चढ्ने छन् ।
रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लगि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।
२०७२ असोज ३ गते घोषणा भएको संविधाना रहेर देश चलिरहेको छ ।आज संविधान दिवस हो ।
असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवाले ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने बताइएको छ ।
यात्रु कुरेर नबस्ने द्रुत सेवाका बसले
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार ‘द्रुत बस सेवा’ भनेर लेखिएका बस सेवाको बुधबार उदघाटनको दिन यात्रुहरु चढ्न नपाउने भएका छन् ।
यात्रुहरुको सेवाका लागि भोलिपल्ट मात्र यी बसहरु हाजिर हुनेछन् । ‘बुधबार नमूनामात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ,’ विभागका प्रवक्ता पनेरुले भनेका छन् । अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने पनेरुले जानकारी दिए ।
१९ स्थानबाट बसले यात्रु चढाउने तथा ओराल्ने काम हुनेछ । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतका स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्दैन् ।
सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता द्रुत सेवाका सवारी साधन चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको मन्त्रालयका अधिकारीहरुको भनाइ रहेको छ ।