चीनको प्रमुख सहर छोङछिङस्थित ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सिपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

बेइजिङ, चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र शीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहेकी फाउन्डेसनकी केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटर्वार्तामा एकअर्कामा अनुभव, शीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीकरणका क्रममा आर्जन गरेको ज्ञान, शीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानबारे प्रस्ताव राखेका थिए ।

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरूवात अन्तर्गत छोङछिङ थ्रि ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

यो सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानका लागि महत्वपूर्ण रहेको प्रमुख गौतमको भनाइ छ । गौतमले भने, ‘छोङछिङको विकासमा उहाँहरूले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लाागि यो कार्यक्रमको महत्वपूर्ण भूमिका रहनेछ ।’

सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुन: स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन हुनेछन् । यसैगरी, नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरूलाई छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्ने भएको छ ।

सहमति अनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने छ ।