एमसीसी नेपालको हितमा नभएको जिकिर: धर्मेन्द्र बास्तोला

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले अमेरिकाको एमसीसी सम्झौता नेपालको हितमा नभएको जिकिर गरेका छन् । बुधबार शान्तिबाटिकामा भएको एक कार्यक्रमका उनले सो जिकिर गरेका हुन ।

उनले भने, “यसको एउटै मात्र उदाहारण युक्रेनमा हेरे हुन्छ । युक्रेनमा सन् २००७ मा एमसीसी सम्झौता गरेर २०१४ मा लागू गरिएको थियो । २०२० मा जैविक हतियार निर्माण गरियो । त्यहाँको शासकलाई रसियकाका विरुद्ध उकासियो । अमेरिकी साम्राज्यवादको उक्साहटमा सिंगो युक्रेनलाई अहिले खरानी पारिएको छ । अमेरिकाले विशाल जनसंख्या भएका दुई छिमेकी मुलुकको बीचमा रहेको नेपालमा आफ्नो सैन्य क्याम्प खडा गरेर नेपालका प्राकृतिक सम्पदा लुट्ने, चीनलाई अवरोध गर्ने, भारतको बजार कब्जा गर्ने र यो क्षेत्रमा अस्थिरता पैदा गरेर आफ्नो प्रभुत्व लाद्ने उद्देश्यले एमसीसी नेपालमा आएको हो । यो कुरा हरेक नेपालीले बुझ्न जरुरी छ ।”

उनले त्यसैकारण एमसीसी सम्झौता खारेज गर्न आफूहरुले आन्दोलन गर्दै आएको बताए । उनले थपे, “विद्युत ट्रान्समिसन लाइन होस् वा सडक त्यो नेपालीको लागि होइन अमेरिकी साम्राज्यवादका लागि हो । अमेरिकी साम्राज्यवादको मिसन पूरा गर्न नेपाली जनताले गाँस काटेर जम्मा गरेको १६० मिलियन डलर समेत दलाल शासकहरुले उल्टो लगानी गरेका छन् । यो परियोजना नेपालको विकासका निम्ति हुँदै होइन, विनासका निम्ति हो । त्यसकारण हाम्रो पार्टी जोडदार रुपमा माग गर्दछ– एमसीसी परियोजना कार्यन्वयन होइन, सम्पूर्णरुपले खारेज गरिनु पर्दछ ।”
यस अघि उनी विप्लव माओवादीको बहुमत समूहमा थिए ।केही महिना अघि विप्लव र वैद्य माओवादी एकता भएपछि उनी क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता छन् ।