७ जेठ २०८० काठमाडौं । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ गरेको छ ।
नाबालिका तथा किशोरीलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा बिहीबार मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल बनेपा नगरपालिका–१० स्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालक लालमान तितुङ र चौरीदेउराली गाउँपालिका लामाटोल घर भई हाल तेमाल गेष्ट खाजा घरमा काम गर्ने श्याम लामा पक्राउ गरेको हो ।
बनेपा नगरपालिका–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालकले १३ देखि १७ वर्ष उमेर समूहका पाँच जना नाबालिका तथा किशोरीलाई वेश्यावृत्ति गराउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा चलाइएको छ ।
वेश्यावृत्ति गराउने कार्यमा संलग्न होटल सञ्चालक लालमान तितुङ र होटलका कामदार श्याम लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम मुद्दा चलाई शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।
उद्धार गरिएका नाबालिका तथा किशोरीहरूलाई संरक्षणका लागि माइती नेपालमा पठाइएको प्रहरीले जनाएको छ ।