सरकारले गर्यो कडा निर्णय,नियुक्ति पत्र नदिइ काममा नलगाउनु

सरकारले अब रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न/नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठान, अस्पताल विद्यालयमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि प्रष्ट पारेको छ । श्रम ऐन, २०७४ को दफा २ (ढ)मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रलाई जनाउँछ । प्रतिष्ठान तथा विद्यालयमा कार्यरत कर्मचारी र शिक्षक राख्ने र निकाल्ने काम धेरै भएकाले पनि नेपाल सरकारले सार्वजनिक रुपमा नै सबैलाई आग्रह गरेको हो।

विज्ञप्तिमा कानुनबमोजिम प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने र बढी समय काममा लगाउन परेमा प्रतिदिन ओटी दिनुपर्ने , दैनिक चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी कर्मचारीलाई विभिन्न सेवा, सुविधा र सुरक्षा दिएर मात्र लगाउन सकिने स्पष्ट कानुनी व्यवस्था गरेको छ ।

मन्त्रालयले प्रचलित कानुनको पूर्णपालना गर्न मन्त्रालयले सरोकारवाला निकायमा ध्यानाकर्षण समेत गराएको छ । साथै, यस विपरीत कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कारबाही हुने मन्त्रालय स्रोत बताउँछ ।