अब शिक्षक शिक्षिकाको अभिलेख पालिकामा राख्नुपर्ने: इष्टु

संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) को दोस्रो पूर्ण बैठक २०८२ माघ २ र ३ गते मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ। बैठकले विभिन्न संगठनात्मक निर्णयसहित शिक्षक–कर्मचारीका पेसागत अधिकार, सामाजिक सुरक्षा, तलब–सुविधा तथा विद्यालयको नियमनसँग सम्बन्धित १३ बुँदे समसामयिक विषय पारित गर्दै ‘हेटौंडा घोषणा पत्र’ जारी गरेको हो ।जसमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीको अभिलेख पालिका शिक्षा शाखा तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा आधिकारिक रूपमा राखिनुपर्ने व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ।

बैठकले संस्थागत विद्यालयलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा अनिवार्य दर्ता गराई शिक्षक–कर्मचारीको योगदान रकम तत्कालदेखि नै कानुनअनुसार कट्टी गर्नुपर्ने माग अघि सारेको छ। साथै, संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई सरकारले तोकेको तलब, सबै किसिमका बिदा तथा अन्य सेवा–सुविधा अनिवार्य रूपमा प्रदान गर्नुपर्ने निर्णय गरिएको छ।
घोषणा पत्रमा साविकको शिक्षा ऐन तथा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घ गठन गर्नुपर्ने तथा ऐनसँग नबाझिने गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउनुपर्ने उल्लेख छ। शिक्षक–कर्मचारीको पेसागत वृत्तिविकासका लागि तालिमलगायत आवश्यक कार्यक्रमको व्यवस्था गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।
निजी लगानीमा स्थापित विद्यालयहरूको वास्तविक लगानीको संरक्षण सुनिश्चित गर्नुपर्ने, विद्यालय तहमा संघीय, प्रादेशिक, जिल्ला तथा पालिकाद्वारा गठन हुने आयोग, समिति, सेमिनार, गोष्ठी, छलफल र शिक्षक तालिममा ISTU लाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने निर्णय पनि गरिएको छ।
त्यस्तै, निजी लगानीका विद्यालयको प्रभावकारी अनुगमन, नियमन तथा कारबाहीका लागि अधिकारसम्पन्न संयन्त्र निर्माण गरी त्यसमा ISTU को अनिवार्य प्रतिनिधित्व हुनुपर्ने,
प्राकृतिक प्रकोप, रोगव्याधि लगायत कारणले विद्यालय लामो समय सञ्चालन हुन नसक्ने अवस्थामा सहयोग पुग्ने गरी विद्यालयहरूले विशेष आर्थिक कोष स्थापना गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।
घोषणा पत्रमा संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक–कर्मचारीका पेसागत माग पूरा गराउन नेपाल शिक्षक महासङ्घले आह्वान गर्ने हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका पेसागत सवाल सशक्त रूपमा उठाउन नेपाल शिक्षक महासङ्घलाई आह्वान गरिएको छ।
ISTU ले शिक्षक–कर्मचारीका पेसागत अधिकारका लागि क्रियाशील सबै शैक्षिक युनियन, सङ्घ तथा सङ्गठनसँग समान दूरी राखी अघि बढ्ने तथा आफ्ना मागलाई सशक्त बनाउन सरोकारवालासँग संवाद र छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
विद्यालयमा प्रदान गरिने शिक्षालाई गुणस्तरीय, सेवामुखी र आधुनिक बनाउने लक्ष्यसहित शिक्षकहरूको पेसागत क्षमता, प्रतिबद्धता र परिश्रमको अधिकतम उपयोग गर्न युनियनले सहजीकरण गर्ने प्रतिबद्धता पत्रमा युनियनका महासचिव भुपाल उप्रेती र अध्यक्ष होमकुमार थापाको हस्ताक्षर रहेको छ।खयर निजी विद्यालयमा कार्यरत शिक्षकलाई तलब सेवा सुविधा कम दिइएको र नियुक्ति पत्र विद्यालयले नदिएकोमा उक्त क्षेत्रमा कार्यरत शिक्षकहरुको गुनासो भने यथावत नै देखिन्छ।