संसदीय व्यवस्थाको अन्त्य नगरी भ्रष्टाचारको अन्त्य नहुने

३० बैशाख २०८० काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थाको अन्त्य नगरी भ्रष्टाचारको अन्त्य नहुने बताउनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)ले आज काठमाडौंमा गरेरको विरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नै नेपाल भ्रष्टाचारी र मानव तस्करहरुको देशको रुपमा बदनाम हुन पुगेको भन्दै भ्रष्टाचारीहरुमाथिको कारबाहीलाई खुट्टा नकमाई अगाडि बढाउन प्रचण्ड नेतृत्वको सरकारलाई आग्रह पनि गर्नुभयो । उहाँले भ्रष्टाचारी तथा मानव तस्कर कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरी कारबाही अगाडि बढाएकोमा प्रचण्ड नेतृत्वको सरकारलाई धन्यवाद समेत दिनुभयो । र, सँगै नक्कली शरणार्थी प्रकरणमा संलग्नमाथिको कारबाही प्रचण्ड सरकारको चाहनाभन्दा पनि अमेरिकी दबाबमा भएको पनि दाबी गर्नु भयो ।
प्रवक्ता बास्तोलाले यस प्रकरणमा प्रचण्ड सरकारको दश प्रतिशत चाहना भएपनि ९० प्रतिशत दबाब भने अमेरिकाले गरेको स्पष्ट पार्नुभयो । भ्रष्टाचारीहरुलाई कारबाही हुने भए अन्य प्रकरण र काण्डमा संलग्न भ्रष्टाचारीहरुलाई पनि कारबाही हुने थियो भन्दै उहाँले विगतका सबै साना ठूला भ्रष्टाचार काण्डमा संलग्न अपराधीहरुलाई कारबाही गरेर देखाउन प्रचण्ड नेतृत्वको सरकारलाई चुनौती समेत दिनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकाले आफूलाई विश्वको शक्तिशाली देश ठान्दछ । शरणार्थी प्रकरणमा उसको नाम जोडिएपछि अन्तर्राष्ट्रिय स्तरमा नै मानव तस्करीमा अमेरिकाको नाम जोडिने स्थिति देखिएपछि अमेरिकाको दबाबमा नै प्रचण्ड नेतृत्वको सरकारले यो प्रकरणमा संलग्न तस्कर, भ्रष्टाचारीहरुलाई पक्राउ गर्न बाध्य भएको हो । जसको दबाबमा भए पनि भ्रष्टाचारीहरुलाई कारबाही गर्नु राम्रो कदम हो । सरकारको यो कदमलाई हामी स्वागत गर्दछौं । र, विगतमा भएका सबै भ्रष्टाचारका फाइल खोलेर संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्न आग्रह गर्दछौं ।”
उहाँले अहिले भ्रष्टाचारीहरुको भुडी फुटेको र भुडी फोराफोर गर्न थालेको चर्चा गर्दै भ्रष्टाचारका विरुद्ध भइरहेका सबै संघर्षप्रति ऐक्यबद्धता जाहेर पनि गर्नुभयो । सँगै उहाँले भ्रष्टाचारको अन्त्य गर्न चाहने हो भने, देशमा राष्ट्रिय स्वाधीनताको अन्त्य, दीर्घकालीन शान्तिको स्थापना र समृद्ध राष्ट्र बनाउन चाहने हो भने यो भ्रष्ट, नालायक, कुरुप र घिनलाग्दो संसदीय व्यवस्थाको समूल अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो ।
नयाँ पुराना संसदवादी पार्टीहरुले यही दलाल संसदीय व्यवस्थालाई कायम राखेर भ्रष्टाचारको विरोध गर्नु भनेको जनतालाई झुक्याउनु, बेवकुफ बनाउनु मात्र भएको पनि स्पष्ट पार्नुभयो । उहाँले रवि लामिछानेको नामै लिएर भन्नुभयो, “रवि लामिछानेले आफ्नी श्रीमतीमार्फत् मन्त्री बनाउन ३ करोड माग गरेको विषय के हो ? भ्रष्टाचार होइन ? के उनी र उनका पार्टीभित्र भ्रष्टाचारीहरु छैनन् । रवि, बालेन, हर्कहरुले साँच्चै यो देशमा भ्रष्टाचारको अन्त्य गर्न चाहन्छन् भने उनीहरुले संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्ने तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने आन्दोलनमा आउनै पर्छ । यही व्यवस्था कायम राखेर भ्रष्टाचारको अन्त्य गर्छु भन्नु जनतालाई भ्रमित तुल्याउनु मात्र हो । केही समय त जनतालई भ्रम दिन सकिएला तर लामो समयसम्म सकिन्न ।”
उहाँले भ्रष्टाचारीहरुलाई जोगाउन खोजे यही भ्रष्टाचारविरोधी आन्दोलन संसदीय व्यवस्था बदल्ने आन्दोलनमा परिणत भएरै छाड्ने पनि चेतावनी दिनुभयो ।
कार्यक्रमको सञ्चालन नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलले गर्नुभएको थियो । कार्यक्रमलाई नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले पनि सम्बोधन गर्नुभएको थियो । भृकुटीमण्डपबाट विरोध प्रदर्शनसहित निस्केको दुई क्रान्तिकारी पार्टीको जुलुस सुन्धरा, खिचापोखरी, न्यूरोड, विशालबजार, इन्द्रचोक, असन र भोटाहिटी हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो । यो समाचार मुलबाटोमा प्रकाशित छ ।