साकार सपनाको सरलीकृत सार यो कथा ऐतिहासिक कथा हो

३० बैशाख २०८० काठमाडौं । साकार सपनाको सरलीकृत सार
यो कथा ऐतिहासिक कथा हो । बिक्रम संवत १८२४ मा नेपालको इतिहासमा घटेको वास्तविक घटनालाई कथाकारले कथाको रूपमा प्रस्तुत गरेका छन् । यस कथाका कथाकार गणेशप्रसाद भट्टराई (वि. स. २०२७) हुन् । कथामा हाम्रा बहादुर नेपाली सेनाहरुले बृटिश सेनासङ्गको लडाइँमा विजय प्राप्त गरेको कुरा उल्लेख गरिएको छ ।
गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्यको सिमाना बढाउन चाहन्थे । उनले विभिन्न टुक्राहरुमा विभाजित राज्यहरुलाई एकीकरण गरेर सिङ्गो र शक्तिशाली राज्य निर्माण गर्न चाहन्थे ।सोही अनुसार उनलेे तेस्रोपटकको प्रयासमा कृतिपुर विजय प्राप्त गरे अनि त्यसपछि कान्तिपुरमा आक्रमण गर्ने तयारी गरे । यो कुरा त्यतिबेलाका कान्तिपुरका राजा जयप्रकाश मल्ललाई थाहा भयो । उनलेे छिमेकी राज्य भक्तपुरका राजा रणजित मल्ल लगायत अन्य राजासँग सहयोगको लागि सरसल्लाह गरे । तत्कालीन समयमा अङ्ग्रेज सेनाहरु शक्तिशाली थिए । उनीहरूले संसारका धेरै देशहरुमा प्रभुत्व जमाएका थिए। नजिकै छिमेकी देश भारत पनि तत्कालीन समयमा तिनीहरूको अधिनमा थियोे । राजा जयप्रकाश मल्लले अङ्ग्रेज सेनालाई सहयोग माग्ने निर्णय गर्दै पत्र लेखेर रामदास र उमदालाई भारतको बेतियातर्फ पठाए । त्यतिबेला अङ्ग्रेज सेनाका प्रमुख गोल्डिङ थिए।
मौकामा चौका हान्नुपर्छ भन्ने अङ्ग्रेज गभर्नर गोल्डिङलाई लाग्यो किनभने युद्धको खर्च गोर्खालीले नै व्य्होर्ने र उनीहरुलाई युद्धमा हराएपछि चीनसङ्ग व्यापार गर्न पनि सजिलो हुने यसरी दुबै हातमा लड्डु हुने भएपछि गोल्डिङले कान्तिपुरका राजालाई सहयोग गर्ने निर्णय गर्दै गोर्खाली सेनाको शक्ति र त्यहाँको सम्पूर्ण वस्तुस्थिति बुझेर कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्नू भनी पटनाका हाकिम रम्बोल्डलाई आदेश दिए । यता गोर्खाली राजा पृथ्वीनारायण शाहले आफ्ना जासुसी मार्फत ती सबै कुरा बुझिरहेका थिए र उनले आफ्नो सेनालाई नेपाल खाल्डो आउने नाका सिन्धुलीगढीको पौवागढीतर्फ उनीहरू आउन अघि नै पठाइसकेका थिए । मध्य वर्षाको समय थियो । उता कप्तान किनलक र सहायक कप्तान हियर से को नेतृत्वमा गोलाबारुद र हातहतियार सहित करिब २४०० जना हिन्दुस्तानी सेनाहरु पटना बाट नेपाल खाल्डोतिर प्रस्थान गरे । केही दिनको हिडाइ पछि उनीहरु सिन्धुलीगढीको पौवागढीनेर आइपुगे ।पौवागढीको उकालो चढ्दै थिए । त्यत्तिबेला साझ पर्नथालेको थियो ।उनीहरूको बाटो कुरेर बसेका गोर्खाली सेनाले एक्कासि हिन्दुस्तानी सेना माथि आक्रमण सुरु गरे । बन्दुक , ढुङ्गामुढा , खुकुरी, गुलेली, भालाले प्रहार गरे । गोर्खाली सेनाले जङ्गलमा रहेको अरिङ्गाल र बच्छिउ को गोलो बिच्काइदिए । रक्सीले मताएर राखिएका अर्नाको टाउकोमा आगोको राको बालिदिएर अङ्ग्रेजी सेना भएतिर धपाइदिए । अर्नाले लखेट्दा सिस्नु र अल्लोमा पर्दा नराम्ररी पोलेर रन्थनिए ।कैयौंलाई अरिङ्गाल र बच्छिउले चिल्यो । अङ्ग्रेज सेनाको भागाभाग भयो । धेरै जना हताहत भए ।उक्त लडाइँमा करिब १७०० जना अङ्ग्रेज सेनाको ज्यान गयो । रातभर उनीहरुलाई गोर्खालीले खेदे। बिहानपख ३०० राइफल गोर्खाली सेनाले जंगलमा फेला पारे । यसरी गोर्खाली सेनासङ्ग अङ्ग्रेज सेनाको शर्मानाक हार भयो । कप्तान किनलकले भने बल्लतल्ल ज्यान बचाउन सफल भए र उनी आफ्ना बचेका ७०० सेना लिएर फर्किए । उनले पहाडमा त मानिस मात्र होइन , जनावर , बोटविरुवा , अरिङ्गाल , किटपट्ङ्ग आदि पनि लडाइँ लड्ने र गोर्खालीलाई लडाइँमा पराजित गर्न नसकिने कुरा आफ्नो गभर्नरलाई बताए । यता पृथ्वीनारायण शाहले अङ्ग्रेज सेनालाई आफ्ना गोर्खाली सेनाले हराएको र आफ्नो सपना साकार भएकोमा विजय उत्सव मनाए । आफ्ना वीर सेना वङ्शुधर गुरुङ लगायत सबै सेनाहरुलाई रातो टीका लगाइदिए । गोर्खाली सेनाको जयहोस् भन्दै सबै ब्यारेकतिर लागे ।
धन्यवाद !