भाषा र संस्कृति निकालेपछि राष्ट्र केवल माटो मात्र रहन्छ, राष्ट्र कमजोर बनाउनेको अन्तिम आक्रमण चल्दै

जसरी सुनका गहना जतिसुकै सुन्दर भए पनि यसलाई जोड्ने जर्ती निकालेपछि गहना फगत एक धातु मात्र हुन्छ त्यसरी नै भाषा र संस्कृति निकालेपछि राष्ट्र केवल माटो मात्र रहन्छ।

केही समय अगाडि कक्षा ११ को नेपाली पुस्तकमा नेपाली वर्णमालाबाट बोलीचाली र प्रचलनमा नभएका दीर्घ ‘ऊ’ र दीर्घ ‘ई’ हटाइएको भनेर फोटो सहित एक लेख देखें। लेखको शीर्षक देख्दै विरक्तिएको यो मन भने लेखकको विद्वत्ता देखेर त्यसै पुलकित भयो।

फेरि सोचें, हाम्रो देशमा भानुभक्तका काव्य र लक्ष्मीप्रसाद देवकोटाका कविताको रसले रसाउने आँखाहरू त पक्कै छन्। कम्तीमा ती आँखाहरूले त देख्छन् होला भाषा माथिको प्रहार। अनि नेपाली भाषालाई प्रेम गर्ने भाषाप्रेमीहरू पनि त जिउँदै छन्। अहिले भाषाप्रेमीहरू जिउँदै मात्रै छैनन् स्वतस्फूर्त रूपमा जाग्दै पनि छन्।

यो जागरणले कोही–कोही विखण्डनकारीहरूको निदहरण भने पक्कै गरेको छ किनकि विविधताले भरिएको देशलाई जोड्ने बलियो जर्ती भाषा पनि एक हो। जसरी सुनका गहना जतिसुकै सुन्दर भए पनि यसलाई जोड्ने जर्ती निकालेपछि गहना फगत एक धातु मात्र हुन्छ त्यसरी नै भाषा र संस्कृति निकालेपछि राष्ट्र केवल माटो मात्र रहन्छ।

राष्ट्र कमजोर बनाउने मन्तरको जन्तर बाँधेर हिंडेका विदेशी झाँक्रीहरू र त्यही मन्त्र फलाक्दै हिंड्ने केही स्वदेशी धामीहरूले सबै सिद्ध्याइसकेपछि अन्तिममा झटारो त्यस देशको भाषा र संस्कृतिमाथि प्रहार हुन्छ। यसको ज्वलन्त उदारहण हो- फिलिपिन्स।

स्पेनिसहरूले कब्जा गर्नुभन्दा पहिले फिलिपिन्समा मलाया प्रमुख भाषा थियो। स्पेनिस अतिक्रमणसँगै मलाया भाषा विस्तारै लोप हुँदैगयो । स्वतन्त्र हुने बेलासम्म उसले आफ्नो भाषा र संस्कृति सबै गुमाइसकेको थियो।

सन् १९३७ मा एक भाषा आयोग गठन गरेर नयाँ भाषा बनाइयो । फिलिपिनो नामकरण गरिएको उक्त भाषा स्थानीय तगालग भाषामा आधरित छ । यद्यपि यो सबै स्थानीय भाषाबाट शब्द निकालेर बनाएको टालाटुली बटुली भाषा हो।

नयाँ भाषा बोल्न धेरैलाई अप्ठ्यारो भएपछि अंग्रेजीलाई पनि त्यहाँ राष्ट्रिय भाषा बनाइयो। अहिले त्यहाँ अंग्रेजी भाषा र पश्चिमी संस्कृति नै बढी प्रचलनमा छ। यो कुरा फिलिपिन्समा जन्मेहुर्केर अहिले मसँगै काम गर्ने एक वैज्ञानिक वार्नरले बताएका हुन्। कहिलेकाहीं हामी सँगै खान जाँदा एकअर्काको देशको संस्कृतिको बारेमा कुरा गर्छौं।

यसको ठिक उल्टो भाषाले कसरी राष्ट्रलाई बलियो बनाउँछ र सबैलाई एकजुट हुन् प्रेरणा दिन्छ भन्ने उदाहरण हो, इजरायल। संसारभरबाट लखेटिएका यहुदीहरू जब इजरायल देश बनाएर बस्न थाले उनीहरूमा सबैले बुझ्ने राष्ट्र भाषाको अभाव भयो। उनीहरूको पुर्खाले बोल्ने गरेको हिब्रु भाषा हाम्रो संस्कृत भाषा भन्दा पनि पहिले करिब २००० वर्ष अघि लोप भइसकेको थियो।

इजरायलमा बस्न आएका यहुदीहरू कसैले अरबी, कसैले जर्मनी र कसैले फ्रेन्च जस्तै धेरै भाषा बोल्दथे। हाम्रो संस्कृत जस्तो रबाई (धर्मगुरु) हरूले पूजा पाठमा मात्र सीमित भएको हिब्रुलाई १८औं शताब्दीमा एलिजर बेन यसुदा भन्ने व्यक्तिले हिब्रु शब्दकोश बनाएर सबैलाई हिब्रुमा पढ्न र बोल्न अनुरोध गरे। सुरु–सुरुमा गाह्रो भए पनि पछि यसले एक आन्दोलनकै रूप लियो।

निरन्तर प्रयासको फलस्वरूप अस्ति भर्खर सन् २०१८ मा इजरायल सरकारले हिब्रुलाई राष्ट्र भाषा घोषणा गर्‍यो। इतिहासमा २००० वर्ष पहिले लुप्त भइसकेको भाषा फेरि ब्युँतेको उदाहरण यो नै पहिलो हो। अहिले त्यहाँको जनसंख्याको ७० प्रतिशतभन्दा धेरैले हिब्रु बोल्छन् जबकि २०० वर्ष पहिला १० प्रतिशतले पनि बोल्दैनथे।

हाम्रा गाउँमा राति सुन्तला चोर आउँथे । बुढाबुढी सुतेको मौका परे झटारोले झारिहाल्ने तर कथंकदाचित बुढाबुढी उठिहाले भने चर्को चर्को कराउँदै हिंड्ने अनि भन्ने कि बाघ आउँछ कि भनेर कराउँदै हिंडेको भनेर।

मलाई लाग्छ, हाम्रो भाषालाई पनि यस्तै चोरहरूले वेला–वेलामा लुकेर झटारो हानिराखेका छन्। कसैले विरोध गर्‍यो भने खण्डन गर्ने, नत्र भाषालाई सुटुक्क बिगारेर कुरूप पार्ने। यो अन्ततः हाम्रो राष्ट्रियता र संस्कृति कमजोर पार्ने प्रयत्न हो।

नेपाली वर्णमाला बाट दीर्घ ‘ऊ ‘ र दीर्घ ‘ई’ हटाएको भन्ने समाचार देखेपछि मलाई पनि यसका बारेमा केही भन्न मन लाग्यो। अस्ति भर्खर नेपाली शब्दकोशबाट ॐ शब्द हटाएको भन्ने सुनिएको थियो। पछि यसको खण्डन पनि भयो क्यारे!

कारण चलनचल्तीमा बोलिंदैन भनेर । यदि यो साँच्चै हो भने यो जसले यस्तो निर्यण गरेको हो, उहाँहरूलाई मेरो गुनासोको नासो यस्तो छ। हुन त म त झन् भाषा विज्ञ पनि होइन, म विज्ञानको विद्यार्थी, स्वर र व्यञ्जन उपयुक्त तरिकाले उच्चारण नगर्दा त्यसको मनोवैज्ञानिक कस्तो असर पर्छ त्यसका बारेमा बरु भन्न सक्छु।

स्वरहरूको उचित प्रयोगले हाम्रो श्वास–प्रश्वासको गतिलाई समेत असर पर्छ। श्वास–प्रश्वासको रेगुलेसनले हाम्रो शरीरको मेटाबोलिजम र फिजियोलोजीमा कस्तो असर पर्छ भन्ने त टिचिङ अस्पतालको फिजियोलोजीको डाक्टरलाई गएर सोधे पनि बताइदिन्छन् । अहिले केही बोलिनँ। यसको बारेमा कुनै दिन चर्चा गरौंला।

विज्ञानको विद्यार्थी भए पनि म एक नेपाली भाषाप्रेमी पनि भएकोले म जस्तो ठेट्नालाई समेत थोरै थोरै यसको जानकारी छ। भाषा हाम्रै मुखबाट निस्कने विभिन्न स्वरहरूको संज्ञा हो जसलाई संसारभरि नै विभिन्न लिपिमा लेखिएका छन्।

जसरी एक सामान्य मान्छेको भन्दा गीत गाउने कलाकारमा धेरै स्वर निकाल्न सक्ने क्षमता हुन्छ र जुन कलाकारले जति धेरै स्वर (फ्रिक्वेन्सी) निकालेर गाउन सक्यो, उसका गीत त्यति नै कर्णप्रिय हुन्छन् र ऊ स्वरको धनी कहलाउँछ।

भाषामा पनि जति धेरै स्वरहरू प्रयोग हुन्छ त्यो भाषा त्यति नै कर्णप्रिय हुन्छ। यस्तो भाषा, भाषाहरूको पनि कलाकार हुन्छ र त्यो भाषा त्यति नै धनी हुन्छ । नेपाली भाषा पनि संसारकै धनीमध्ये एक हो । यसमा धेरै स्वरहरू (१३) छन् भने अंग्रेजीमा जम्मा ५ छन्।

दीर्घ स्वर सम्बन्धी केही कुरा भन्न मन थियो तर ती ‘विज्ञहरूसित’ मेरो परिचय छैन तपाईं जस्ता नेपाली भाषाप्रेमीहरूको माध्यमबाट यो सन्देश उहाँहरूसमक्ष पुग्थ्यो कि ?

हामीलाई विद्यालयमा भाषा शुद्ध लेख्नुपर्छ मात्र सिकाइयो, शुद्ध बोल्नुपर्छ भनेर सिकाइएन। मैले अझै सम्झन्छु कक्षा ९ को नेपाली व्याकरण पढदा, ‘सर्वनाम, विशेषण, जाति, पेशा, थर– पदान्तमा दीर्घ हुन्छन् दीर्घै लेख्ने गर’ भनेर घोकिन्थ्यो। यसरी दीर्घ लेख्ने गर मात्र सिकाइ यो दीर्घ बोल्ने गर भनेर कहिल्यै भनिएन। नेपाली भाषालाई बचाउने हो भने शुद्ध लेख्न मात्रै होइन, शुद्ध बोल्न पनि सिकाउनुपर्छ।
१. डलर अनुदान आएकाले उनीहरूकै खटन-पटन मान्ने हो भने पनि उनीहरूको भाषामा (अंग्रेजी) मा स्वर कम भए पनि वाक्य बोल्दा राइजिङ र फलिङ टोन राखेका हुन्छन् जुन हाम्रो भाषामा हुँदैन। यसले हाम्रो भाषाको ह्रस्व र दीर्घ जस्तै काम गर्छ। ह्रस्व भनेको १ मात्रा हो भने र दीर्घ भनेको २ मात्रा हो। राइजिङ र फलिङ टोन नमिलाई जति राम्रो अंग्रेजी बोले पनि त्यो सुन्दा राम्रो सुनिंदैन मात्र होइन, बुझ्न पनि गाह्रो पर्छ।

२. चलनचल्तीमा ‘ऊ’ हुँदैन भन्ने विज्ञहरूका आमाले उनीहरूलाई ‘बाबू’ भनेर बोलाएको रै’नछ कि क्या हो! खेतमा काम गर्न जाँदा कोक्रामा हालेर गएको आफ्नो बच्चालाई बेलुका आमाले आएर काखमा लिंदा (अत्यास लागेर) ‘मेरो बाबू’ भनेर बोलाउँदा ‘बाबू’ को अन्तमा आउने जुन ‘ऊ’ छ यो दीर्घ ‘ऊ’ हो ।

यो दीर्घ (२ मात्रा ) हो अर्थात् आमाले अलि लामो गरेर ‘बू’ भन्छिन्। छोराछोरीलाई बाबू भनेर बोलाउने चलन नेपालभरि छ। विज्ञ महोदयहरूले कुन देशको चलन-चल्तीको कुरा गर्नुभएको हो मैले बुझिनँ । यो त एक उदाहरण मात्र हो, यस्ता शब्द त कति छन्, छन् ।

२ दीर्घ मात्र होइन हाम्रो भाषामा प्लुत (३ मात्रा) स्वर समेत छ। प्लुत भनेको दीर्घ भन्दा पनि लामो ३ वा ४ मात्रा स्वर हो। दीर्घ ऊ नदेख्ने ले प्लुत ऊ त झन् के देखेको होला। तपाईंहरूको गाउँ-ठाउँतिर छैन भने हाम्रो गाउँ (स्याङ्जा- आँधीखोला-६ टिकाजा) मा आउनु, हामी सुनाइदिऊँला। कि स्याङ्जा पनि नेपालभित्र पर्न छोड्यो ? आफ्ना छोराछोरी समयमा भात खान आएनन् भने हाम्रा गाउँतिर अझै पनि यसरी बोलाउनुहुन्छ।

जस्तै- ‘ए ! बाबू (४ वा ५ मात्रा)) भात खान आइजा’ भनेर बोलाउँदा, बाबूको ‘बू’ लाई धेरै लामो गरेर बोलाउने चलन छ । यो वाक्यमा बू को ‘ऊ’ प्लुत स्वर हो। मलाई थाहा छ नेपाली भाषा विज्ञ अझै धेरै जिउँदै हुनुहुन्छ। भाषा जस्तो विषयको निर्णय लिंदा कमसेकम नेपालभरिका भाषा विज्ञ र प्राध्यापकहरूसँग राय–सुझाव लिएर निर्णय गर्नुपर्छ।

३. म फेरि भाषा शुद्ध लेख्नुपर्छ भनेर कसैले बुझ्दै नबुझ्ने क्लिष्ट नियमहरूको प्रयोग र अङ्ग्रेजी शब्द मिसाउनै हुँदैन भन्न खोजेको पनि होइन। भाषालाई समय अनुसार नबदल्ने हो भने लुप्त पनि हुनसक्छ वा अर्को भाषाले स्थान ओगट्न सक्छ। स्वर परिवर्तन भन्दा शब्दहरू थपेर नेपाली भाषालाई सजिलो बनाउन सकिन्छ।

अमेरिकाको प्रख्यात कफी पसल स्ट्यार बक्समा गएर ‘चाय’ भनेर माग्ने हो भने सबैले बुझ्छन् उनीहरूको मेन्युमै यही शब्द छ। यो शब्द एङ्ग्लो भाषाका शब्दकोशहरूमा भर्खरै समावेश गरिएको हिन्दी शब्द छ। अरुको भाषाका शब्दहरूलाई भित्र्याएर नै अंग्रेजी संसारको भाषा भन्न सफल भयो।

४. हामीलाई विद्यालयमा भाषा शुद्ध लेख्नुपर्छ मात्र सिकाइयो, शुद्ध बोल्नुपर्छ भनेर सिकाइएन। मैले अझै सम्झन्छु कक्षा ९ को नेपाली व्याकरण पढदा, ‘सर्वनाम, विशेषण, जाति, पेशा, थर– पदान्तमा दीर्घ हुन्छन् दीर्घै लेख्ने गर’ भनेर घोकिन्थ्यो। यसरी दीर्घ लेख्ने गर मात्र सिकाइ यो दीर्घ बोल्ने गर भनेर कहिल्यै भनिएन। नेपाली भाषालाई बचाउने हो भने शुद्ध लेख्न मात्रै होइन, शुद्ध बोल्न पनि सिकाउनुपर्छ।

अन्त्यमा मैले पहिले भने झैं भाषाको ज्ञाता होइन केही कमि–कमजोरी रहेछन् भने यसको भावअनुसार बुझ्नुहोला। नीतिशास्त्रमा भनिएको छ— बाटो हिंड्ने मान्छे लड्न सक्छ । दुर्जनहरू लडेको देखेर हाँस्छन् भने सज्जन उठाउन जान्छन् ।