गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा बन्द नहुने जानकारी दिएको छ ।
मन्त्रालयले ११ गते साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणको लक्ष्यसहित गरिएको लक डाउनको मंगलबार पहिलो दिन भएकाले आवश्यक बस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट मंगलबार बन्द रहेको उल्लेख गर्दै बुधबारबाट त्यस्ता वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवाहरु निर्वाधरुपमा सञ्चालन गर्न अनुरोध गरेको हो ।
देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडूल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने र विना पासका सवारीसाधनलाई नियन्त्रणमा लिइ साँझ फिर्ता दिने लगायतका कार्य भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न सहयोग गरेकामा सबै नेपाली नागरिकहरुलाई धन्यवाद दिंदै ११ मंगलबार बिहान ६ बजेदेखि लागू भएको लकडाउनको घोषणा आगामी चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने बताएको छ ।