संस्कृत भाषाको लोकप्रियता भारत लगायत विश्वमा बढ्दो

राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा शनिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गइरहेको बताएका हुन् । संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ । “संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको बिस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भनेका छन् । शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उहाँले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपालै रहेको स्पष्ट पारेका छन् । विसं २००४ मा बोल्न, लेख्न र सङ्गठन गर्न नपाउने जनविरोधी एक तन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्गसाथै “जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ राष्ट्रपतिले भने ।”
“कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव छ”, उनले भने । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राध्यापक नीलमणि ढुङ्गानालाई जयतु संस्कृतम् पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले प्रा डा ऋषिराम पोखरेल, प्रा डा दीर्घराज घिमिरे, प्रा डा रामचन्द्र गौतम, प्रा गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरेका थिए भने जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले संस्कृत भाषाको प्रवर्दनमा गरिएका कामका बारेमा जानकारी गराए ।