२५ बैशाख २०८० काठमाडौं । महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले सोमबारबाट अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ । सोमबार बिहान माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने महानगर प्रहरी बलका प्रमुख पाण्डेले बताए । यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।
ती क्षेत्रमा सेवा प्रदायकले आ-आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियरहरू, उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, दि इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईएसपीएएन) का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए ।
सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरले वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो ।