आज टुडिखेलमा घोडेजात्रा देखाइँदै,घोडेजात्रा परम्परा कसरी चल्यो त? हेर्नुहोस् यस्तो छ किम्बदन्ती

काठमाडौं उपत्यकामा पुस्तौँ पुस्तादेखि घोडे जात्रा मनाउने गरिन्छ ।यो जात्रा नेपालको राजधानी अन्तरगत रहेको टुडिखेलमा घोडाको खेल देखाएर मनाइने गरिन्छ । जात्रा मनाउने चलन कसरी र किन सुरु भयो त कथा यस्तो छ:परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो ।यस्तो घटना धेरै चल्यो तर रोकिएन ।घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोजे । अन्तमा तरिका फुर्यो; राक्षसलाई घोडाको टापले कुल्चाएर मार्नुपर्छ । राक्षसलाई मारियो । राक्षस मारिएको र विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।
अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् ।

घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।

यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् ।

यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहाँचरेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । ललितपुरको बालकुमारीमा पनि एकल घोडा दौडाएर यो जात्रा मनाइने परम्परा रहिआएको छ ।