एकता शिशु निकेतनको होस्टेलना बालिकाको शंकास्पद मृत्यु , प्रहरीद्वारा प्रिन्सिपल सहित ३ जना पक्राउ गरी अनुसन्धान जारी

रत्ननगर नगरपालिका–१० को एकता शिशु निकेतनको होस्टेलमा एक छात्राको शंकास्पद मृत्यु भएपछि प्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरिएको छ ।कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल नामकी बालिका शनिबार झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् ।अहिले घटनास्थलमा घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भण्डारीले बताए ।उनले घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको पनि बताए ।उनका अनुसार स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरिएको छ । दुई वर्षदेखि होस्टलमा बसेर पढेकी शालीनका आमा दुबई र बुवा काठमाडौँमा रहेका छन् । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बसेर पढ्ने गर्थिन् । पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ भने पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीस्रोतले बताएका छन् ।