गणित,विज्ञान र कम्प्युटर अंग्रेजीमा पढाउने व्यवस्था गर्न नहुने :वैकुन्ठ अर्याल

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताएका छन् । नेपाली विषयको महत्व खोइ ?तर्फ इङ्गीत गर्दै उनले आधारभूत तह १–५ का शिक्षकहरु अझै पनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने उनले बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताएका हुन् ।

उनले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा पनि कम रहेको बताएका छन् । ” संविधानले मातृभाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरुप पाठ्यक्रम विकास केन्द्रले मातृभाषामा पढाउन पाठ्यक्रम बनाएर लागू गर्दासमेत मातृभाषामा पढ्नेहरुको संख्यामा कमी देखिएको बताए । उनले भने, ‘संविधानले पनि व्यवस्था गरेको छ, सबै राजनीतिक दलहरुको एक स्वर भएको अवस्था पनि हो कि मातृभाषामा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित हुनुपर्छ । हामीले अभ्यासमा लैजाने प्रयास गर्‍यौं । तर मातृ भाषामै प्रयोग गर्ने प्रयोगकर्ताहरुमा कमी देखिएको छ ।’

कुनै भाषाको पाँच/सात सय पुस्तक छपाई गर्दा वर्षौंसम्म पनि किताब किन्न आउनेहरु नभएको उनको भनाइ थियो ।

उनले आज राष्ट्र र राष्ट्रियताप्रति बफादार बनाउनेगरी पाठ्यक्रम बनाउनुपर्ने आवश्यकताको महसुस भएको भन्दै सोहीअनुरुप पाठ्यक्रमहरु परिमार्जन गर्न तयारी गरिरहेको बताए ।