प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले दिए इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको शुभकामना

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।उनले शुभकामना व्यक्त गर्दै भनेका छन्:- नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो । क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो भूमिका खेल्ने मैले विश्वास लिएको छु ।

२१ औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको छ । क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति हामी सबैलाई प्रेरित गर्दै आएको छ । यसलाई अझ समुन्नत र परिस्कृत तुल्याउनु सबै धार्मिक समुदायको समेत कर्तव्य हुन आउँछ ।

अन्त्यमा, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षासहित सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीहरुमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

९ पुस, २०८०