मेलम्चीको पानी काठमाडौंमा आउन ढिलाइ भएको मन्त्रीको स्वीकार

खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा वितरण गर्न केही समय ढिलाइ हुन गएको स्वीकार गरेका छन् ।बाढी र पहिरोले गत वर्षको तुलनामा यो वर्ष मुहानस्थलमा बढी नै क्षति पु¥याएको हुँदा पानी वितरणमा केही ढिलो हुन गएको उनले स्वीकार गरेका हुन् ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) स्थलगत अनुगमनको क्रममा काठमाडौंमा मेलम्चीको पानी नियमित वितरण गर्न तथा सो आयोजनालाई स्थायित्व दिन आयोजनाको पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री यादवले काठमाडौँ पानी पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गर्ने भनेका छन् । “एक/दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो निर्माण हुन्छ । त्यसपछि मुहानस्थलमा काम सुरु हुन्छ । चाँडोभन्दा चाँडो काठमाडौँमा पानी पठाइने छ । प्राविधिक रूपले केही ढिलो भए पनि मेलम्चीको पानी काठमाडौँ जसरी पठाइनेछ।

हेडवक्र्स क्षेत्रमा १५ मिटर गहिरो पुरिएको छ भने त्यहाँ जम्मा भएका ढुङ्गा बालुवा पूरा सफा नगरिएसम्म पानी पठाउने प्रणाली सञ्चालनमा ल्याउन सकिँदैन । मुहानसम्म पुग्ने बाटो निर्माणसँगै हेडवक्र्स क्षेत्रको काम सुरु हुन्छ ।” बाटो निर्माण र हेडवक्र्स क्षेत्रको सफाइका लागि चार वटा डोजर परिचालन गरिएको छ ।