काठमाडौँ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ती ३ जना रहेका छन् ।उनीहरुलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
पक्राउ गरिएका असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । सिआरभी (कन्ट्रोल रुम भेहिकल)मा ड्युटी गर्दा दुई साताअघि उनीहरूले लुटपाट गरेको आरोप छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् । लुटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्–‘पीडितहरू जाहेरी दिन नआएपछि सार्वजनिक हित विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’यो खबर रातोपाटीमा प्रकाशित छ ।