विवेक ओझाको उपन्यासले पायो ०७९ को मदन पुरस्कार

०७९ को मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेसँगै मदन पुरस्कार पाउने भएको हो।

यसैगरी,२०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए ।

विसं २०१२ मा मदन पुरस्कार गुठी स्थापना भएको थियो भने विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो । विंस २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले पाएको थियो भने जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।