प्राधिकरणले बिजुलीमा उच्च मूल्य पाउन थाल्यो

भारतको खुला बजारमा बिक्री गरिरहेको बिजुलीमा प्राधिकरणले हाल उच्च मूल्य पाउन थालेको छ । नेपाली बिजुली प्रतियुनिट भारु १० (१६ रुपैयाँ) सम्ममा बिक्री हुन थालेको प्राधिकरणले जनाएको छ । भारतमा गर्मी बढेका कारण विद्युत् माग उच्च हुँदा औसत प्रतियुनिट भारु १० सम्म मूल्य पाएको हो ।

प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई जलविद्युत् आयोजना निर्यातको स्वीकृति पाएको हो ।

यसअघि भारतमा बिक्रीका लागि अनुमति पाएका आयोजनामा प्राधिकरणले निर्माण गरेको २३.२८ मेगावाटको त्रिशूली जलविद्युत्, १४.५५ मेगावाटको देवीघाट, चिलिमे जलविद्युत् कम्पनीले बनाएको २१.४४ मेगावाटको चिलिमे जलविद्युत् र माथिल्लो सोलु जलविद्युत् कम्पनीको २२.८ मेगावाटको सोलुखोला, प्राधिकरणले निर्माण गरेका ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी र ग्रिन भेन्चर प्रालिले बनाएको ५१ मेगावाटको लिखु–४, २४.२५ मेगावाटको काबेली बी–१ र १९.४ मेगावाटको तल्लो मोदीको बिजुली भारतीय बजारमा बिक्री गर्न अनुमति दिएको छ ।