राजश्वको छापा, उद्योग व्यवसायी त्रासमा

काठमाडौं । देशका प्रमुख आर्थिक गतिविधि हुने मुख्य बजार तथा भन्सार नाकाहरूमा राजश्व अनुसन्धान विभाग र भन्सार विभाग अन्तर्गतका निकायहरूले उद्योगी/व्यवसायीहरूलाई अनावश्यक दुःख दिने गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नयाँ सडकलाई बताए ।

देशको आर्थिक गतिविधिमा सुस्तता आइरहेको भएको बेला राजश्व अनुसन्धान विभाग, भन्सार लगायतले उद्योगी/व्यवसायीहरूलाई हत्तोसाहित अनावश्यक दुःख दिने गरेको अध्यक्ष अग्रवालले बताए ।

उनले सरकारले राजश्व बढाउने नाममा उद्योगी र व्यापारीहरूमाथि गरेको व्यवहार गलत भएको बताए । भन्सारले आफू खुसी माल बस्तुहरूको भन्सार मुल्यंकन गर्ने, राजश्व विभाग र आन्तरिक राजश्व विभागले आफू खुसी उद्योगी व्यवसायीहरूका फर्महरूमा छापा हान्ने, कर निर्धार गर्ने कार्य गलत भएको उनले बताए । सरकारको यस्तै रवैया रहे उद्योगी व्यवसायीहरू सडकमा आउन बाध्य हुने उनले बताए ।

सरकारले राजश्व बढाउने नाममा गरेका यी क्रियाकलापले उद्योगी व्यवसायीहरू दिक्क भएको भन्दै ठुलो विद्रोह हुनसक्ने उनको दाबी छ । उनले भने, ‘निर्माण व्यवसायीहरू सडकमा आइसके, अब अन्य व्यवसायीहरू पनि सडकमा आउन सक्छन् ।’ उद्योगी/व्यवसायीलाई दुःख दिएर सरकारले राजश्व बढाउन नसक्ने उनको भनाई छ ।

तर, विश्वमा परेको शंकट नेपाली समुदायले पनि भोगिरहेका कारण शंकटको बेलामा हुने विभिन्न गतिविधिहरूलाई सरकारले नियन्त्रण गर्न विभिन्न योजना ल्याउनुपर्ने नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनले यस्तो संकटको बेला सरकारले ल्याएको नीतिलाई सबैले सहयोग गर्दै सरकार र व्यापारीबीच सहकार्य गरेर अघि बढ्नेपर्ने बताए । उनले अहिले उद्योग र व्यापारमा ठुलो समस्या भएपनि निजी क्षेत्र र सरकारबीचको सहकार्य नै महत्वपूर्ण हुने उनले बताए ।

सरकारले अनावश्यक गरेको कडाईका कारण व्यापारी तथा व्यवसायीहरू मर्कामा परेका छन् ।

राजश्व विभागले बजार अनुगमन र गस्तिका नाममा विभिन्न उद्योग र पसलहरूलाई समेत छापा मार्ने कार्य तिव्र पार्नाले व्यवसायीहरूमा झन् नैराश्यता छाएको अध्यक्ष अग्रवाल बताउँछन् । पछिल्लो समय काठमाडौं उपत्यकामा मात्र दर्शजनभन्दा बढी व्यवसायीक फर्महरूमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । केही व्यवसायी फर्म सिल गरिएको छ भने भन्सार नाकाहरूबाट भन्सार पास भएर छुटेका सयौं गाडिहरूलाई जरिबाना गराएको छ ।

विश्वमा कोरोना भाइरसको कारण आएको आर्थिक समस्याका कारण उद्योग र व्यापार क्षेत्र आर्थिक संकटको अवस्थामा रहेको छ । त्यही वाहानामा सरकारले भान्सारबाट आएका विभिन्न माल बस्तुलाई अनावश्यक निगरानी गर्दा अहिले व्यापारीहरूले हैरानी र सास्ति मात्र नभएर त्रास समेत भोग्नु परेको छ ।

विश्वमा आएको आर्थिक समस्यासँगै नेपाली औद्योगिक र व्यापार क्षेत्रमा पनि आर्थिक समस्या रहेको छ । नेपाल राष्ट्रिय व्यापार महासंघका उपाध्यक्ष मनोज श्रेष्ठ अहिले यस्तो आर्थिक समस्याको समयमा सरकारले व्यापारीहरूलाई अनावश्यक दुःख दिने काम मात्र गरेको बताउँछन् ।

उनले भने, ‘सरकारले ल्याएको मौद्रिक नीतिले व्यापारीको समस्या समाधान गर्न सकेन, आयातित माल बस्तुमा स्टिकरण लगाउने नीति झन्जटिलो र अव्यवहारिक छ, फेरि तस्करी निण्न्त्रणको नाममा गरिने चेक जाँचले व्यापारीलाई थप पीडा पारेको छ ।’ भन्सारका कारण चाइनाको नाकामा कन्टेनर थन्किदा नेपालमा सामान ल्याउन नपाएको उनले गुनासो गरे ।

व्यापारीहरूका अनुसार चनाइनाको बजारमा पहिलेको तुलनामा अहिले सामान धेरै महंगो छ । भनेको जस्तो सामान समेत पाइदैन । पाइएको सामानसमेत अहिले नाकाको झन्जटिलो प्रक्रियाका कारण सामान आउन सकिरहेको छैन । जसका कारण नेपाली बजारमा भएका सामानहरूको मूल्यसमेत वृद्धि भइरहेको छ ।

अहिले खाद्यन्नको भाउ आकासिएको छ । खुद्रा बजारमा १७–१८ सयमा पाइने चामलको भाउ अहिले २३–२४ सय पुगेको छ । खाने तेल र तरकारीहरूको भाउ पनि वृद्धि भएको छ ।

व्यापारीहरू अहिले बजारमा समान सटेज भएको भन्दै एकतर्फि मूल्य बढाइरहेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपनि अहिलेसम्म कुनै पनि व्यापारीहरूले उक्त समायोजन गरेको मूल्य अनुसार आफ्नो सामानको मूल्य घटाएर बेच्न सकेको छैन । खुद्रा वा किराना पसल गर्नेहरूसमेत अहिले अस्वभाविक रूपमा सामानको मूल्य बढेर आएको बताउँछन् ।

तेस्रो मुलकबाट सामान ल्याएर बेच्ने साना र मझौला व्यापारीहरू अहिले सामान ल्याउन सक्ने अवस्थामा नरहेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । सरकारले ल्याएको स्टिकरण प्राणालीका कारण समेत अहिले व्यापारीहरू थप मर्कामा परेको उनी बताउँछन् । यस्ता व्यवास्थाका कारण भन्सार प्रकृया पुरा गर्न नसक्दा धेरै सामानहरू अहिले नाकाबाट ल्याउन नसकेको उनको गुनासो छ ।

झन्जटिलो भन्सार प्रक्रिया पुरा गरेर नाकाबाट निकासी गरेको मालबस्तुलाई फेरि राजश्व अनुसन्धानले चेकजाँच गर्ने गर्दा व्यवसायीहरूले थप दुःख भोग्नु परेको व्यपारीहरूको गुनासो छ ।

तर, भन्सार विभागका सूचना अधिकारी पुन्यबिक्रम खड्काले आयातित समानामा स्टिकरण लगाउनुकै कारण भन्सारमा कुनै समस्या नभएको बताएका छन् । खड्काका अनुसार अहिलेसम्म कुनै पनि व्यवसायीहरूले आधिकारीक रूपमा सामानमा स्टिकर गर्ने विषयले समस्या भएको जानकारी आफूहरू कहाँ नआएकोे बताए । समस्याको विषयमा आधिकारिक जानकारी आए सम्बन्धित निकायले समाधान गर्ने उनले बताए ।

स्टिकर अव्यवहारिक र झन्जटिलो हुने भन्दै व्यवसायीहरूले भने पत्रकार सम्मेलन नै गरेर खारेज गर्न माग गरिरकेका छन् । सीमा क्षेत्रका उद्योगी व्यवसायीहरू आयातित मालबस्तुमा स्टिकर गर्ने काम अव्यवहारिक र अस्पष्ट भएको बताइरहेका छन् । भन्सारबाट जाँचपास भई छुटेका मालवाहक गाडिहरूलाई अनुसन्धानका नाममा राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातकर्ताहरू मर्कामा परेको व्यवसायीहरूको भनाइ रहेको खबर नयाँ सडक अनलाइनले छापेको छ ।