१५ असार २०८० बहुमतका लागि थप एक सांसद जुटाउन नसक्दा कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरका ढल्यो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तिमा ४७ सांसदको समर्थन पाउनुपर्नेमा कार्कीले आफ्नो पक्षमा ४६ सांसद मात्रै जुटाउन सके ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मत दिँदा अन्य सांसदमध्ये केहीले उनको विपक्षमा मत दिए, केही तटस्थ बसे अनि केही भने मतदान प्रक्रियामा सहभागी भएनन् । कार्कीले बहुमत जुटाउन नसेकको र उनको विपक्षमा उनले पाएको भन्दा कम मत खसेकाले कोशीमा सरकार गठनको पेचिलो राजनीति सुरु भएको छ ।
कार्की नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख परशुराम खापुङले सोही धारअनुसार पुनः सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन् । यससँगै अव सरकार गठनका लागि सत्तापक्ष या विपक्षले कम्तिमा ४७ सांसदको समर्थन जुटाएर दाबी गर्नुपर्ने हुन्छ । तर, संसदीय गणितका आधारमा त्यसरी दाबी गर्ने संख्या दुवै पक्षलाई पुग्ने स्थिति देखिएको छैन ।
त्यसो भए प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्कीलाई नै पुनः मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ । त्यसो भएमा कार्कीले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रदेश सरकार गठन प्रक्रिया
उक्त समयमा विश्वासको मत लिँदा कर्णाली प्रदेशमा भएको अभ्यास कोशी प्रदेशमा भित्र्याउने एमालेको तयारी छ । अघिल्लोपटक कर्णाली प्रदेशसभामा एमालेका ४ जना सांसदले फ्लोर क्रस गर्दा माओवादीका महेन्द्रबहादुर शाहीको सरकार जोगिएको थियो । एमालेमा आन्तरिक द्वन्द्व हुँदा तत्कालीन एमालेका माधव नेपाल समूहका ४ जना सांसदले फ्लोर क्रस गरेका थिए ।
कोशीमा ठूलो दलको रूपमा पुनः मुख्यमन्त्री भएमा कार्कीले अहिलेको समर्थन कायमै राखेर कांग्रेस, माओवादी या जसपाका कम्तिमा एक सांसदलाई आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । त्यसका लागि फ्लोर क्रस हुने स्थिति आउँछ । र, एमालेले कोशीमा फ्लोर क्रस गराउन प्रयास गरिरहेको स्रोतको दाबी छ । एमालेका नेताहरू यो रणनीतिअनुरूप सक्रिय भएको स्रोतको दाबी छ ।
उता एमालेको यो रणनीति आफूहरूले पनि बुझेको संकेत गर्छन् प्रदेशस्थित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो । गठबन्धनभित्र खेलेर एक मत आफ्नो पक्षमा पार्न एमाले लागेको उनको भनाइ छ । तर, त्यो सफल हुन नदिने उनको दाबी छ । ‘एमालेले अहिले पनि गठबन्धनभित्र खेल्न खोजेको छ । उसको त्यो प्रयास सफल हुन हामी दिँदैनौ,’ आङ्बोले भने ।
आङ्बोको यो भनाइलाई आधार मान्दा एमालेको रणनीतिबाट गठबन्धन सशंकित भएको देखिन्छ । शुक्रबार विश्वासको मतमा मतदानको समयमा पनि त्यसको संकेत देखिएको एमालेका नेताहरू बताउँछन् । शुक्रबार विश्वासको मतमा मतदान गर्ने समयमा कांग्रेसकी सांसद ममता तामाङ र माओवादी केन्द्रका सांसद नारायण बुर्जा मगर अनुपस्थित भए । सुरुमा उनीहरू प्रदेशसभामै रहे पनि विश्वासको मतको समयमा भने उनीहरू बाहिरिएका थिए ।
keystoneglobalnetworkHero New year offer
अर्कातर्फ विपक्षी गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाएर भए पनि आफ्नो पक्षमा ४७ सांसद पुर्याउन जोडबल गर्ने देखिन्छ । तर, जसपाले तटस्थ बस्ने निर्णय गरेकाले गठबन्धनलाई सभामुखले राजीनामा दिँदा पनि एक मत नपुग्ने देखिन्छ । यसो हुँदा कार्की नै ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री बन्ने सम्भावना ज्यादा छ ।
एमाले स्रोत अहिले आन्तरिक रूपमा गठबन्धनभित्रबाट एक अथवा दुई मत आफूतर्फ तान्न छलफल भइरहेको बताउँछ । ठूलो दलको हिसाबले कार्कीको नेतृत्वमा सरकार बने बहुमत पुर्याउने एमालेको रणनीति छ । त्यसका लागि गठबन्धनको असन्तुष्टिभित्र ‘खेल्ने’ एमालेको तयारी छ ।
यो समाचार शिलापत्र अनलाइनमा प्रकाशित छ।