‘बैकुन्ठ एक्सप्रेस’ कृतिका लेखक शर्माको निधन

१० माघ २०७५।

नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्माको बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनको कलंकीस्थित नेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइटेलले जानकारी दिए।
१९९४ साल कात्तिक १८ गते, काठमाडौं धर्मस्थलीमा जन्मिएका शर्मा काशी हिन्दु विश्वविद्यालयबाट इतिहास र त्रिविबाट नेपालीमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका थिए।
लामो समय त्रिवि नेपाली केन्द्रीय विभागमा प्राध्यापन गरेका शर्मा प्रखर र शालीन व्याख्याताका रूपमा विद्यार्थीमाझ परिचित छन्। प्राध्यापनबाहेक उनले समालोचना, नाटक, कथा, निबन्ध, उपन्यास, हास्यव्यंग्य, स्तम्भ लेखन र सम्पादनका क्षेत्रमा ठूलो योगदान दिएका छन्। नेपाली समालोचना क्षेत्रमा शैलीविज्ञानको स्थापना र विकासमा शर्माको विशिष्ट योगदान रहेको प्राध्यापक लुइटेलले बताए। शर्माको निधनले नेपाली वाङमयमै ठूलो क्षति भएको उनले बताए। लुइटेलले भने, ‘शर्माको प्राध्यापन क्षेत्रका अतिरिक्त नेपाली साहित्य र समालोचनका क्षेत्रमा ठूलो योगदान छ।
उनको निधन नेपाल र नेपाली साहित्य तथा समालोचनाका क्षेत्रमा ठूलो क्षति हो।’ शैलीविज्ञान, समकालीन समालोचना : सिद्धान्त र प्रयोग, नेपालीका केही आधुनिक साहित्यकार, कथाको विकास प्रक्रिया, आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना उनका प्रसिद्ध समालोचना संग्रह हुन्।
त्यस्तै शब्द रचना र वर्णविन्यास उनको नेपाली व्याकरणसँग सम्बन्धित चर्चित कृति हो। जेमन्त/यमा र वैकुण्ठ एक्सप्रेस शर्माका नाटक हुन् भने बैखरी, च्याँखेधर्ना, कोर्रा, महाशून्य उनका कथा संग्रह हुन्।

पुछारको पातो, इन्टरभ्यु स्पेसलिस्ट मिस्टर झप्पुसिंह डबल एमए शर्माका निबन्ध संग्रह हुन्। मायाविनी शर्शी, छाँगासँग मनका कुरा, नवरस जस्ता महाकवि देवकाटाका काव्यकृतिको सम्पादन गरेका शर्माका सहलेखनमा पनि थुप्रै कृति प्रकाशित छन्।
शर्माले बैकुण्ठ एक्पे्रेसका लागि २०४२ सालको मदन पुरस्कार पाएका थिए।

यस्तै २०४० सालको मैनाली कथा पुरस्कार पाएका शर्माले अनगिन्ती पुरस्कार र सम्मान पाएका छन्। उनका पत्नी, परामक्र र आक्रम दुई छोरा र एक छोरी छन्। शर्माका तीन छोरा भने यसअघि नै बितेका छन्।
उनका छोरा आक्रम अस्ट्रेलियाबाट नआउन्जेल शव पशुपतिस्थित चिस्यान केन्द्रमा राखिएको छ। उनको अन्त्येष्टि छोरा आएपछि मात्र गरिने पारिवारिक स्रोतले बतायो।

newskiran.com

newskiran.com

You May Also Like