१२ माघ २०७९ काठमाडौं । कप्तानको जिम्मेवारीबाट मुक्त भई निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने विषयमा चर्चा भइरहेका बेला नेपाल क्रिकेट संघले सरोकारवालाहरूसँग छलफल थालेको छ ।
क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले क्यानमा उनलाई टिममा फर्काउनेबारे छलफल भइरहेको बताए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालको कानुनअनुसार गर्नू भन्ने सुझाव दिएको उनले बताए । नेपालको कानुनले सन्दीपलाई खेल्नबाट नरोक्ने चन्दले बताए ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले भने उनलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए । तर, उनको मूल मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले देशबाहिर जान नपाउने, काठमाडौं छाड्दा अनुमति लिनुपर्ने लगायतका सर्तमा सन्दीपलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
सन्दीप थुनामुक्त भएपछि त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्नसमेत पुगेका थिए । तर, क्यानमा उनलाई टिममा फर्काउने विषयमा एकमत छैन । मुद्दा विचाराधीन नै रहेकाले उनलाई तत्काल टिममा बोलाउन नहुनेमा केही पदाधिकारी रहेको बताइएको छ भने कतिपयले नेपालको कानुनले खेल खेल्न पाउने अधिकार सन्दीपलाई दिएको भनेका छन् । यो खबर शिलापत्र अनलाइनमा प्रकाशित छ ।