७ कार्तिक २०७५-
राष्ट्रिय धर्मसभाले कार्तिक ९ र १० गते राजधानीमा पाँचौँ पण्डित सम्मेलन गर्ने भएको छ। सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढी व्यक्तिको उपस्थिति रहने कार्यक्रम संयोजक पवित्रबहादुर खड्काले बताउँछन् । सम्मेलनमा भाग लिन भारतबाट समेत ३० जना पण्डितको समूह आउने छन् । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिदै छ । नेपालको धार्मिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय, धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्थाको चिरफार र चौथो पण्डित सम्मेलनको समीक्षा पनि सम्मेलनमा हुने छ । सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको छ । काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणका उपायका बारेमा सम्मेलनमा छलफल गरिने छ, आयोजक समितिका सदस्य कृष्णप्रसाद खनालले भने ।’ बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरिएको छ । सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका प्रतिनिधिलाई पनि बोलाइएको छ।