इच्छुक स्मृति पुरस्कार २०७९’ मूल पुरस्कार देवेन्द्र लम्साल र साहित्यकार तुम्बेहाङ लिम्बूलाई

१जेठ २०८० काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका स्थापित लेखक साहित्यकार तथा कलाकर्मीहरूलाई पुरस्कृत गर्दै आइरहेकोमा यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७९’ मूल पुरस्कार स्याङ्जाका साहित्यकार देवेन्द्र लम्साल र नेपाली भाषी भुटानी साहित्यकार तुम्बेहाङ लिम्बूलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ ।

स्याङ्जा चिन्नेवास निवासी देवेन्द्र लम्साल नेपाली प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील हुँदै आएका छन् । उनी नेपालमा जनवादी क्रान्ति गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको जनयुद्धमा समेत सङ्गठनात्मक एवम् सिर्जनात्मक रूपबाट निरन्तर क्रियाशील भई नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवद्र्धनका लागि अहोरात्र समर्पित रही आएका छन् । त्यसैगरी अर्का स्रष्टा नेपालीभाषी भुटानी नागरिक तुम्बेहाङ लिम्बू भूटानको निरङ्कुश शासन व्यवस्थाले थोपरेको वर्गीय, जातीय र भाषिक दमन र उत्पीडनका विरुद्ध वर्गसङ्घर्ष र जनक्रान्तिको उद्घोष गर्दै माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादी धाराको विकासमा निरन्तर कृयाशील रहेका छन् ।

त्यसैगरी प्रतिष्ठानले साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७९’ विगत लामो समयदेखि साहित्यलेखन र चित्रकला सिर्जनामा क्रियाशील रहेका दाङ तुलसीपुरका खगेश्वर भण्डारीलाई र कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७९’ गीत, सङ्गीतका माध्यमबाट जनपक्षीय संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी मकवानपुरकी निर्मला घिसिङलाई प्रदान गरिने जनाएको छ ।

उक्त पुरस्कारहरु यही जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवसका अवसरमा प्रदान गरिने कुरा प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीबाट जारी वक्तव्यमा उल्लेख छ ।