तामाकोशी नदीमा पौडी खेल्दा वेपत्ता अनुज पौडेलको शव फेला

३० बैशाख २०८० काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २१ बर्षिय अनुज पौडेलको शव आज चार दिनपछि फेला परेको छ । चार दिनअघि वैशाख २७ गते मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता धभएका पौडेलको शव आज पौडी खेलेको ढिकुरी मन्दिर भन्दा तल निर्माणाधिन पक्की पुल नजिकै फेला परेको हो । खाँडादेवी गाउँपालिका–४ कलचौडेका पौडेल साथीहरुसँग पौडी खेल्न गएका थिए ।

नेकपा एमाले निकट अनेरास्वविय खाँडादेवी गाउँ कमिटीका सचिव समेत रहेका पौडेल हाल ओर्भसियर पढदै थिए । स्थानीय र सुरक्षाकर्मीले खोजी गर्दा पनि पत्ता नलागेपछि वैशाख २८ गतेबाट सशस्त्र प्रहरी बल कुरिटारबाट आएका तालिम प्राप्त गोताखोरको टोलीले दुई दिन खोजी गरेको थियो । पौडेलको शव आजै मन्थली अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले रामेछाप न्युजलाई जानकारी दिए । पौडेलको निधनपछि उनको गाउँ पुरै शोकमा डुबेको छ ।