जगदीश चन्द्रका तीन कविताहरु

बिग हाउस

छाप्नुस् महान नायक
आकर्षक तस्बिर सहित
लागोस् मानिसलाई
कुनै अर्कै दुनियाँमा बनेको बनाइएको
दिव्य मानिस हो

लेख्नुस् लेख्न सक्ने जति भन्नुस् भन्न सक्ने जति उतार्नुस् उतार्न सक्ने जति लिप्नुस् लिप्न सक्ने जति

के हो भन्दा
के होइन
ऊ जत्तिको
यो दुनियामा
छैन भन्नुस्

त्याग समर्पण
आदर्श सबै सबैको
जिउँदो मानिस
बनाउनुस् कुँद्नुस्
अनि छल्नुस्
यो बेकुफ बुद्धिहीन
मानिस भन्नेको
दुनियाँ हेरिरहेका दुनियाँ चराइरहेका
के के जातीलाई

विस्फोटन

शासकले गाइरहेको छ मानिसलाई
जिउँदै मार्ने र कुरूप पार्ने एउटा बीभत्स गीत
यतिबेला
को आरामसँग बस्न सक्छ

चारैतिरबाट
सबाल उठेको छ
कोको छन् आफूलाई
आफैंलाई मारेर
जिउने नाटक गरिरहेका छन्

खोजिरहेका छन्
मानिसहरू
तिनीहरूलाई
जसले गति ध्वनिको
सौन्दर्य जलाइ रहेका छन्

अँध्यारो जति
जम्मा पारेर
बेहोस बनाउने
खेती कसले गरिरहेका छन्
ती सबैलाई
मानिसहरूले हेरिरहेका छन्

र कहिल्यै ननिभ्ने अग्निदहन र विस्फोटनको एउटा छुट्टै
अगि कहिल्यै नभएको
अनि नगाइएको
कविता-गीत बुनिरहेका छन्

म त्यही गीतमा
लठ्ठिएको छु

पानीको लय

पानी परोस्
खुब बगोस्
नदी र मन
बग्नुपर्ने पनि
बगाइनु पर्ने पनि
मसँग रहोस्
हिजो अस्तिदेखिको
रमरम उज्यालो
जसले मलाई
जिस्क्याइ रहेछ
सयौं बर्खदेखि
मसँग जिओस्
केही चित्कार
केही प्रतिशोध
सँगसँगै
जीवनको लय
जीवनको गजल
विद्रोहको गन्ध
मुक्तिको मात

newskiran.com

newskiran.com

You May Also Like