मोटरसाइकल चोरी गर्ने व्यक्ति सिसी फुटेको आधारमा पक्राउ

रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीमा संलग्न प्रहरी जवान उपेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले निलम्बन गरेको छ । मोटरसाइकल चोरीको घटनामा संलन भएको सिसी क्यामेराको फुटेको आधारमा आज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्ला अदालत रामेछापमा चोरी मुद्दामा अदालतबाट १० दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

गत शनिवार साँझ मन्थलीको बीच बजारबाट बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रंगको मोटरसाइकल कृषि विकास बैङ्कबाट झर्ने ओरालोमा पार्किङ गरिराखेको अवस्थामा हराएपछि मोटरसाइकल धनी रमेश नेपालीले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले सिसी क्यामेराको फुजेट खोजी गर्ने क्रममा हराएको मोटरसाइल र सो मोटरसाइकल चलाउने प्रहरी जवान उपेन्द्र भण्डारी रहेको खुलासा भएको थियो । भण्डारीले उक्त मोटरसाइकल टुक्राटुक्रा पारी आफू बस्ने कोठामा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले संगठनभित्र गलत काम गर्नेमाथि कडा रुपमा प्रस्तुत हुने बताए । उनले भने,‘गलत काम गर्ने प्रहरी जवानलाई निलम्बन गरेर थप कारवाहीको लागि प्रक्रिया अघि बढाएका छौ, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरी सचेत छ ।’ प्रहरी संगठनभित्र कुैन एक व्यक्तिले गलत काम गर्दैमा संगठन नै गलत नहुने बताउदै गलत आफ्नै संगठनका कर्मचारीमाथि पनि प्रहरीले निर्ममतापूर्वक कारवाही गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘प्रहरी जवान भण्डारीमाथि अनुसन्धान भइरहेको छ, अब कानुनी रुपमा सजाय दिलाउनका लागि प्रमाणसहित जिल्ला अदालतमा पेश गछौ, संगठनलाई बदनाम गराउन लाग्ने माथि कुनै पनि सम्झौता हुँदैन ।’
यो समाचार बैशाख ४ को रामेछाप न्युजमा प्रकाशित छ।