जगदीशचन्द्रको कविता ‘ म त्यहीं छु’

कविता शीर्षक ‘म त्यहीं छु’

-जगदीशचन्द्र

१.तिम्रा बाबुबाजेले
मलाई जहाँ छोडेका थिए
अहिलेसम्म म त्यहीं छु ।

२.म मेरो बाबुको औंला समाएर
तिम्रो घर पुग्दा म मेरो बाबुसगै
तिम्रो आँगनको डिल परतिर
बाबु जसरी नै टुक्रुक्क बसेर
तिमीलाई हेरेको सम्झना ताजै छ।

३.तिम्रा घरका हसिया कोदाली
फाली खुर्पा बन्चरो अर्जाप्न टाढैबाट
हामीतिर हुत्त फालेर तिम्रा घरका
मुख्य मानिस के के बतुराउँदै
घरभित्र पसेको सबै अहिलेसम्म यादै छ ।

४.म गोरो थिएँ तिमी पनि
म जस्तै गोरो थियौ तिमीलाई
तिम्रै नाउँमा बोलाउँथे
मलाई गोरे भन्थें म जस्तै तर
कलकलाउँदो कालो मेरो भाइ
काले थियो मेरो भाइ जस्तै
तिम्रो भाइको नाउँ काले थिएन ।

५.तिम्रो स्कुल मेरो स्कुल
एउटै थियो तिम्रो र मेरो
बस्ने बेन्च एउटै थिएन
पानी खाने धारा एउटै थिएन
पानी खाने भाँडो एउटै थिएन

६ म पहिलो भए पनि मलाई
तिमीलाई जसरी पुरस्कृत गरिएन
चाहे युद्ध होस् चाहे सङ्घर्ष होस्
सँगसँगै हिंडियो कतै मरियो
शरीरमा घावैघाउ पारियो
जे जस्तो भएपनि घर भन्ने
ठाउँलाई बिरान बनाइयो आफन्तका
प्रियजनका चाह सबै चढाइयो

७.तिमी कहाँ कहाँ छौ क्यारे राष्ट्रपति
प्रधानमन्त्री सभामुख सभासद् महासचिव
सचिव राजदूत के के का प्रमुख म त
जहाँको त्यहीँ तिम्रो तन्त्रमा सायद अछुत नै छु ।

म जहाँको त्यहीँ छु..

newskiran.com

newskiran.com

You May Also Like