उपत्यकाको फोहोर ब्यवस्थापनमा पुन:समस्या हुने

१२ श्रावण २०७५-करिव एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम केही दिनअघि मात्र सुरू भएको उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गएको छ । समस्या यसरी नै बढ्दै जाने हो र सम्बन्धित निकायले व्यवस्थापनको उपयुक्त पहल नगर्ने हो भने उपत्यकावासीले फोहरका कारण ठूलो समस्या सामना गर्नुपर्ने निश्चित छ । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार मेट्रिक टन र काठमाडौं महानगरपालिकाबाट मात्रै दैनिक ५ सय मेट्रिक टन फोहर निस्कने गर्दछ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिव ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । हाल फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलभन्दा २ किलोमिटर पर बञ्चरे डाँडाको प्रस्तावित व्यवस्थापनस्थललाई व्यवस्थित गर्न अझै लामो समय लाग्ने फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताए । बञ्चरे डाँडामा निर्माण गरिने स्यानिटरी ल्यान्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण सम्पन्न गर्न कम्तिमा पनि ३ वर्ष लाग्ने ज्ञवालीको भनाइ छ । बञ्चरे डाँडालाई दीर्घकालीन रुपमा फोहर राख्ने स्थान बनाउन आजैदेखि काम सुरु गर्ने हो भने पनि तत्कालका लागि व्यवस्थापन गर्ने वैकल्पिक स्थान आवश्यक छ । फोहरको अत्यधिक भारले गर्दा फोहरमाथि नै करिव ४०–५० मिटर माथिसम्म निर्माण गरिएको प्रवेशमार्गमा पहिरो जाने सम्भावना रहेकाले अब सिसडोलमा फोहर विसर्जन नगरिने भएको छ । २०६२ मा २ वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल्ड निर्माण गरिएकामा त्यसैलाई ४ पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर सिसडोलमै व्यवस्थापन गरिँदै आएको छ । विगत वर्षका बजेट वक्तव्यमा ३ वर्षभित्र सम्पन्न गरिने भनिए तापनि हालसम्म समेत बजेटको सुनिश्चितता हुन सकेको छैन । काठमाडौं उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापनका लागि लगानी बोर्डबाट निजी विकासकर्तासँग प्रारम्भिक सम्झौता भएको ४ महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि स्थानीय समस्या स्थानीय तहबाटै समाधान गर्नुपर्ने भए पनि यो समस्या समाधान हुन सकेको छैन । ज्ञवालीका अनुसार फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने काम पूर्ण रुपमा काठमाडौं महानगरपालिकाकै हो र निर्माणका लागि कामपाले आजैदेखि सुरु पहल गर्नुपर्छ, अन्यथा फोहरका कारण अत्यन्तै ठूलो समस्या आउँछ । काठमाडौं महानगरपालिकाले भने दीर्घकालीन रुपमा फोहर राख्ने स्थान बञ्चरे डाँडा केन्द्र निर्माणको काम सरकारकै हो भन्दै आएको छ । केन्द्र सरकारसँग समन्वय गरेर निर्माण छिटो सुरु गर्ने जानकारी कामपाका सहप्रवक्ता नवराज ढकालले दिए । रासस

newskiran.com

newskiran.com

You May Also Like