सरकार विप्लवबीच पहिलो चरणको वार्ता सम्पन्न

१९ फागुन २०७७ काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता टोलीहरुबीच बुधबार बिहान पहिलो चरणको वार्ता सम्पन्न भएको हो । दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको महसुस गरेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
मंगलबार मात्रै दुबै पक्षले दुई दुई सदस्यीय वार्ता टोलीको घोषणा गरेका थिए। सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सहभागी थिए । त्यसैगरी विप्लवको पार्टीतर्फबाट खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै पछिल्लो समय सरकार र विप्लव पार्टीबीच समस्या चुलिँदै आएको थियो । बुधबार भएको वार्ता सकारात्मक रहेको र अर्को चरणको वार्ताको मिति र स्थान भने सार्वजनिक नभएको समाचार मिरमिरे अनलाइनमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like