अब कर्मचारीको राजीनामा र अवकाश पालिकाबाट स्वीकृत


११ माघ २०७७ काठमाडौं । सरकारले पालिकाका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत पालिकाबाटै गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार पालिका समायोजन भएका र ऐनअनुसार पालिकामा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय भएको हो ।

मन्त्रालयको पालिका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोजन भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने र पालिकामा स्वीकृत गर्ने कर्मचारी नभएमात्र प्रदेशबाट गर्ने नयाँ व्यवस्था गरेको बताए ।

पालिकामा भएका कर्मचारीको राजीनामा स्वीकृत र अवकाशपत्रको स्वीकृत कार्यलाई सरलीकृत तथा पहुँचयोग्य बनाउन सम्बन्धित तहबाटै गर्ने निर्णय भएको उनले बताए ।

उनले भने,” गाउँपालिकाका पाँचौँ र छैठौँ तहसम्मका कर्मचारीका लागि राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने, गाउँपालिकाकै सातौँ र आठौँ तहसम्म कर्मचारीको सम्बन्धित गाउँपालिकाको राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेस गरी जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने नयाँ व्यवस्था भएको छ ।”

नगरपालिकाको पाँचौँदेखि आठौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने र सो नभएसम्म सम्बन्धित जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्नेछन्। उपमहानगरपालिका र महानगरपालिकाको नवौँ र दशौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्नेछन्।

पालिकामा तोकिएको दरबन्दीबमोजिमको कर्मचारी कार्यरत नरहेको अवस्थामा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवले राजीनामा स्वीकृत गर्ने वा सङ्घीय मन्त्रालयबाट स्वीकृत गर्ने व्यवस्था पनि भएको छ । यो खबर शनिबारको अर्थतन्त्रमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like