सांस्कृतिक रुपमा मगर पहिचान चर्चा र विश्लेषण


१ माघ २०७७ काठमाडौं । नेपालमा मगर जातिको छुट्टै पहिचान, रीतिरिवाज, धर्म, संस्कृति र चाडपर्वहरू छन् । मगर समुदाय सांस्कृतिक रूपमा निकै धनी छ । मगर समुदायका प्रचलित गीत र नृत्यमा हुर्रा नाच, सोरठी, घाटु नाच, झ्याउरे, मारुनी तथा संगीमा मुरली, मादल, डम्फु आदि हुन् । हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ । त्यसैले, हुर्रा नाच एकदमै लोकप्रिय छ । हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात् ‘देवी नाच’ भन्ने गरिन्छ । मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ । मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ । हुर्रा नाच विशेषगरी तिहारमा नाच्ने गरिन्छ । हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच्ने गरिन्छ । युवायुवती, बालबच्चाहरू हात समाएर गोलो बनाई नाच्नेलाई छोटी कदमे, मादलेहरू भटयाउनेहरू दुई कदमे र त्यही तालमा बुढाबुढी लस्करै तीन कदमे नाच्ने गरिन्छ । यो नाच नाच्दा ‘देशै रमाइलो’ पंक्ति जोडेर गीत गाउँदै नाच्ने गरिन्छ ।
मगर जातिको मुख्य धर्म तान्त्रिक हो । तर हिन्दु र बौद्ध धर्मको प्रभावले हिन्दु र बौद्ध धर्म मान्ने गरेको पाइन्छ । मगर सांस्कृति रुपमा निकै धनी जाति हो । यसै सन्दर्भमा मगर जातिको चर्चा गरौं ।

भाषा
मगर जातिको आफ्नै छुट्टै भाषा रहेको छ । मगरहरू भोट–बर्मेली भाषा बोल्ने गर्दछन् । मगरको लिपि अक्खा हो । मगर भाषा तीन किसिमका हुन्छन् । तीनै किसिमका भाषालाई मगर भाषा ९मातृभाषा० भनिन्छ । भोट–बर्मेली अन्तर्गत मगर ढुट, खामरपाङ र काइके भाषा हुन् । यसमध्ये ढुट भाषा मुख्य हो । काइके भाषा बोल्नेहरू धेरै कम रहेकोले लोप हुने अवस्थामा पुगेका छन् ।

मगर समुदायमा बासोबास भएको गाउँबस्तीमा आफ्नै मातृभाषा बोल्ने गरिन्छ । तर आफ्नै भाषा बोलेता पनि नेपाली भाषा बोल्न सबैले जानेका हुन्छन् । मातृभाषा विद्यालय, कलेज, संघ, संस्था, सरकारी कार्यालयमा काम नलाग्न सक्छ । तर मगर जाति भनेर चिनाउने पहिचान भनेको नै मातृभाषा हो । मगर जातिको राजनीतिक, आर्थिक, इतिहास, सामाजिक, संस्कार, संस्कृति मात्र नभएर मातृभाषालाई प्रमुख पहिचान रूपमा मानिन्छ ।

थर–उपथर
मगर जातिमा केही थर र हजारौं उपथर रहेको पाइन्छ । मुख्य थरमा आले,राना, थापा, पुन, बूढामगर, बुढाथोकी, घर्ती, छन्त्याल र काइके आदि हुन् । थर ठाउँ, विशेषता र व्यवसाय आदिबाट राखिएको पाइन्छ । मगर जातिमा कति थर, उपथरका हाँगाबिँगा छन् भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन सकेको छैन् तर अनुसन्धान जारी रहेको छ ।

भेषभूषा र गहना
मगर जातिका आफ्नै भेषभूषा र आभूषण रहेका छन् । यही भेषभूषा र आभूणले गर्दा अरू जातिभन्दा अलग देखिन्छ । मगरका भेषभूषाले अन्य जातिलाई समेत प्रभावित पारेको पाइन्छ । पुरुष मगरहरूको भेषभूषा भोटो, लँगौटी, कछाड, अक्कोट र टोपी नै मुख्य हुन् । कम्मरमा खुकुरी भिर्नुलाई जातीय गुणका रूपमा लिने गरिन्छ । यसैगरी महिलाहरूको भेषभूषा मखमली चोलो, घलेक, मजेत्रो, टेलिकटन र पोलिस्टरका गुन्यूँ, टिकिस र पटुका मुख्य हुन् । पहिला–पहिला महिलाहरूले भांग्रा लगाउने गर्दथे । हिजोआज भांग्राको सट्टा घलेक लगाउँछन् । महिलाहरूले लगाउने गरगहनामा चाँदीको बाला, कानमा ढुङग्री, माडवारी, नाकमा बुलाकी, फुली, मुन्द्री र कण्ठा, सिखण्दी, क्लिप फूल, तिलहरी, जन्तर, औंठी, चुरा, रैया, थोका, हम्बेल, कल्ली तथा सुनका कुण्डल, कानमा लगाउने लुर्के सुन आदि मुख्य हुन् ।

गाजा–बाजा
मादल, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, खैंजडी, अलङका, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, दमाहा, डम्फु, मरुली, झ्याली जस्ता बाजाहरूमा हुन् ।

छेवर–पास्नी र गुन्युँचोलो
मगर समाजमा छोरी भए पाँच र छोरा भए छ महीनामा नयाँ कपडा दिएर पास्नी गरिदिने चलन छ । यसलाई पुरभदै भनिन्छ । केही ठाउँ, स्थान र समुदायअनुसार न्वारानकै दिन बच्चालाई तीनचोटि मुखमा भात खुवाउछन् । यसरी खुवाउनुलाई अन्नप्रसान भन्छन् । अन्नप्रसानमा १३ किसिमका परिकार हुन्छन् । सो परिकार सालको पातमा राखेर खुवाइन्छ । अन्नप्रसानमा आफन्त र गाउँका सबैलाई बोलाइन्छ । बच्चालाई चाँदीको बाला दिने चलन छ । बाला नदिनेहरूले बच्चालाई सगुनका रूपमा दक्षिणा दिने गर्दछन् । जेठो छोरो जन्म्यो भने पुरभदै भाग भनेर कुलदेवतालको पूजा गर्ने चलन छ ।
मगर समुदायमा छोरो तीन, पाँच, सात र नौ वर्ष पुगेपछि साइत जुराएर छेवर गरिन्छ । धेरै ठाउँमा छेवर मावलीले नै गरिदिन्छन् । छोरीलाई पनि पाँच वर्ष पुगेपछि नयाँ घाँघर दिने गरिन्छ । केही मगर समुदायमा नौ र दश वर्षमा छोरीलाई गुन्युँचोली दिने गरिन्छ । छेवर र पास्नीमा पनि मामाली, वैनावाल, नातागोता र आफन्तलाई बोलाएर भोज खुवाउने चलन छ । भोज खुवाइ सकेपछि बिहेमा जस्तै मामाली र बैनावालाई स्वागत र बिदाइ गर्ने चलन भएको खबर पूर्वेली न्यूजमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like