२१ पुस २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फारम र कक्षा १० (एसईई) को आवेदन फारम खुलाएको छ ।जस अनुसार १६ पुसदेखि २१ माघसम्ममा विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फारम भराइसक्न बोर्डले विद्यालयलाई आग्रह गरेको छ ।
‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौँ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने ‘परीक्षा कसले गर्ने निर्णयचाहिं भएको छैन । तर, जसले परीक्षा लिए पनि विद्यार्थीको फारम भराउने निर्णयमा पुगेका हौँ ।’ मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को संघ (राष्ट्रिय परीक्षा बोर्ड) ले गर्ने सहमति जुटेको हो । सहमति जुटेसँगै यो वर्ष एसईईको र क्रमश : कक्षा ८ र १२ को परीक्षा गर्ने योजना शिक्षा मन्त्रालयले तयार पारेको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुन्छ’, शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा परीक्षा हुनेछ । सचिवको अध्यक्षतामा परीक्षा बोर्ड र प्रदेश शिक्षा निर्देशनालयले प्राविधिक काम गर्नेछ भने राष्ट्रिय परीक्षा बोर्डले सहजीकरण गर्नेछ ।
‘अब एसईई सञ्चालनको नेतृत्व प्रदेशको सामाजिक विकास मन्त्रालयले लिनेछ । प्राविधिक काम प्रदेशको शिक्षा विकास निर्देशनालयले गर्छ । सर्टिफिकेसन र प्रमाणीकरण निर्देशनालयले गर्छ’, मन्त्रालय उच्च स्रोतले भन्यो । यसअघि एसईई र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको थियो ।
शिक्षाविद्को सुझाव : स्तरीय परीक्षा गरौँ
विद्यार्थीको सही मूल्याङ्कन गर्न स्तरीय परीक्षाको व्यवस्था गर्नुपर्ने शिक्षाविद्हरूको राय छ । ‘८ को पहिलेदेखि नै स्थानीयले गर्ने भन्ने हो । पालिकाहरूले अभ्यास पनि गरिरहेका छन् । कक्षा ३, ५, ८, १० र १२ को स्तरीय परीक्षामा जानुपर्छ’, शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने, ‘यो पालिकाहरूलाई नै दिनुपर्छ ।’
तर कतिपय निजी तथा संस्थागत विद्यालयले भने चैतमा नै परीक्षा हुने ठानेर शैक्षिक सत्रको सुरु देखि नै जुम र भौतिक कक्षा सञ्चालन गरेका छन् । केही विद्यालयका विषय शिक्षकका भनाई अनुसार लगभग कोर्ष नै कम्प्लिट हुन थालेको छ । तलब भने निकासा भएको छैन विद्यालयले पेस्कीमात्र खुवाएको छ । केही मसिना विद्यालय भने माघ १ गतेबाट सुचारु गर्ने तर्खरमा लागि रहेछन् ।