२८ मङ्सिर २०७७ काठमाडौं । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वव्यापी रुपमा सञ्चालन गरेको यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करण विजेता प्रवृत्ति राई बनेकी छिन् । सहभागी १० देशका २ सय १३ जना प्रतिस्पर्धीहरुबाट विभिन्न चरणबाट अन्तिम प्रतिष्पर्धाको लागि उत्कृष्ट १० मा छानिएकाहरु बीचमा शनिबार फाइनल प्रतिष्पर्धा भएको थियोे । अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट १० मा परेका अन्य ९ प्रतिष्पर्धीलाई उछिन्दै राई विजेता बनेकी हुन् ।
प्रतिष्पर्धामा खोटाङका लकेश राई, प्रवृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलिमा साम्पाङ राई सहित १० जना सहभागी रहेका थिए । सुनसरीकी सरिता राई ‘फस्ट रनरअप’ र खोटाङबाट लकेस राई ‘सेकेन्ड रनरअप’ भए । दर्शकले गरेको छनोटमा उत्कृष्ट प्रतिभा सुनसरीका रामकुमार राई परेका थिए ।
प्रमुख अतिथि गायक तथा संगीतकार जितेन राई, विशेष अथिति किरात राई यायोक्खाका महासचिव जनक राई उपस्थिति प्रतियोगिताका निर्णायक मन्डलमा वरिष्ठ संगीतकर्मी सुर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राई रहेका थिए ।
प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
उत्कृष्ट १० प्रतिस्पर्धीहरुको ग्रान्ड फिनालेम आफ्नो गायन प्रतिभा कार्यक्रम किरात राई साँस्कृतिक कलाकार संघको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ ।
प्रतियोगितालाई सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको संघका केन्दीय अध्यक्ष रामकर राईले बताए । किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवर्धन तथा उत्थानको लागि प्रतियोगिताको आयोजना गरिएको हो ।
यलम्वर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जितेका थिए । यस्तै, दोश्रो संस्करण निश्चल राई, तेश्रो संस्करणमा नम्रता राईले उपाधी जितेकी थिइन् । किरात राई समुदायका प्रतिभाहरुका लागि प्लेटफर्मका रुपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम बने भने गत वर्ष अर्थात पाँचौं संस्करणमा भने अम्विका राई बाजी मारेकी थिइन् । छैठौं संस्करणमा प्रवृत्ति राई विजेता बनिन् ।
प्रतिस्पर्धी विजेताले यलम्वर संगीत प्रतियोगिताका विजेता प्रवृत्तिले हङकङमा सञ्चालन हुने यलम्बर साँझमा आफ्नो प्रस्तुति दिन पाउने भएकी छन् । किरात राई यायोक्खा हङकङले हरेक वर्ष आयोजना गर्ने सो साँझमा यलम्वर संगीत प्रतियोगिताका विजेताले आफ्नो प्रस्तुति दिन पाउने संयोजक राईले जानकारी दिए। उपविजेता सरिताले एउटा गीत रेकर्डिङ गर्न पाउने भएकी छन्।
यस्ता छन् ३ विजेताहरु:-