विकल्प सहित वैद्य माओवादीले संघर्ष चर्काउने

२२ मङ्सिर २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर संघर्ष चर्काउने तयारी गरेको छ ।
पार्टीको हालै सम्पन्न पोलिटब्यूरोको बैठ्कले संघर्षमा सिंगो पार्टीलाई केन्द्रित गर्ने निर्णय गरेसँगै पार्टीका व्यूरो, प्रदेश हुँदै जिल्लाका बैठ्कहरु र जबस मोर्चाहरुका बैठ्कहरु यतिखेर धमाधम रुपमा बसिरहेका छन् । यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि क्रान्तिकारी माओवादीले अग्रगामी विकल्पसहित संघर्ष चर्काउने तयारी गरेको हो ।
पार्टी महासचिव मोहन वैद्य किरणले प्रस्तुत गरेको र पारित भएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै भनिएको छ, “सरकारले बाह्यरुपमा समाजवादको भ्रम छरे पनि सारमा नवउदारवादलाई अवलम्बन गर्दै आएको यथार्थ छर्लङ्गिएको छ । सार्वजनिक उद्योगहरुको निजीकरण गर्ने प्रक्रियालाई यथावत अगाडि बढाउँदै जाने, बहुराष्ट्रिय कम्पनीहरुलाई निर्बाध प्रवेश गराउने, क आज एकातिर राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या निकै भयावह बन्दै गएका छन् भने अर्कोतिर सरकार अत्यन्तै नालायक, असक्षम तथा असफल साबित भइरहेको छ । सरकारको विकल्पको खोजीमा या त उस्तै प्रकृतिको संसदवादी सरकार या पुनरुत्थानवादी सरकारको पुनःस्थापनाको खतरा टड्कारो देखिन थालेको छ । यस स्थितिमा एकातिर राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका तात्कालिक तथा आधारभूत समस्याको समाधानको लागि सङ्घर्षलाई सशक्त ढङ्गले विकसित तुल्याउन र अर्कोतिर सरकार मात्र होइन सत्ताकै विकल्पका रुपमा सङ्घीय जनगणतन्त्रको स्थापनाको नारालाई प्रचारात्मक÷आन्दोलनात्मक रुपमा प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक छ ।”

यही विश्लेषणका आधारमा क्रान्तिकारी माओवादीको सम्पन्न पीवी बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ । उल्लेखित विषयलाई लिएर यही मङ्सिर २५ गते काठमाण्डौ सहित देशका सबै प्रदेशहरुमा विरोध प्रदर्शन कार्यक्रम सञ्चालन गर्ने घोषणा समेत गरिसकेको छ ।

पारित राजनीतिक दस्तावेजमा राष्ट्रिय स्वाधीनताको रक्षा, भारतीय विस्तारवादद्वारा अतिक्रमित भूभाग फिर्ता गराउने र एमसीसीको खारेजी लगायत जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा सङ्घर्षलाई विकसित तुल्याउने, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहित उत्पीडित जन समुदायका हक, हित अधिकारका समस्याको सम्बोधन, मजदुरहरुको निष्काशन, तलव तथा सुविधा कटौतीको विरोध एवम् उनीहरुका मागको सम्बोधन, किसानहरुका लागि मलखाद, उपयुक्त अनुदान, सहुलियतपूर्ण ऋण, कृषि उपजको बजार व्यवस्था, भूमिहीन, गरिब तथा सुकुम्बासीका लागि भूमिको व्यवस्थापन, स्वदेशमै रोजगारीको सुनिश्चितता तथा सो नहुँदासम्म बेरोजगार भत्ताको व्यवस्था, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरणको विरोध तथा राष्ट्रियकरणको व्यवस्था, महिला–बालिका बलात्कार तथा हत्याको विरोध र दोषीहरुमाथि कडा कारवाहीको व्यवस्था, भ्रष्टाचार, कमिशनतन्त्र तथा महङ्गीको विरोध, कोभिड–१९का नाममा भ्रष्टाचार गर्ने, यसलाई बहाना बनाएर मजदुरहरुको निष्काशन तथा तलव–सुविधा कटौती गर्ने, बेरोजगारी बढाउने लगायतका सरकारी काम र षडयन्त्रको भण्डाफोर लगायतका विषयमा संघर्ष आवश्यक रहेको ठहर गरेको छ । क्रान्तिकारी माओवादीले सङ्घर्षका क्रममा पार्टी, संयुक्त मोर्चा तथा जनवर्गीय मोर्चाका काममा आवश्यक तालमेल मिलाउने समेत जनाएको छ ।

यता सरकारले भने सरकारका विरुद्ध जनआक्रोश चुलिदै जाँदा क्रान्तिकारी माओवादी लगायत २२ राजनीतिक संगठन, अन्य पक्षको स्वतःस्फूर्त विरोध प्रदर्शनलाई लक्षित गर्दै विरोध प्रदर्शनमा रोक लगाउने उद्घोष गरेको छ । सरकारको यस्तो नीतिको विरोध गर्दै क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक वक्तव्य निकाली सरकारको निरंकुशताको जोडदार विरोध गरेको छ । देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलले जारी गर्नुभएको वक्तव्यमा सरकारले कोरोना महामारीलाई बहाना बनाएर सडक संघर्ष गर्न पाउने जनताको मौलिक अधिकारमाथि नियन्त्रण गर्न खोजेको भन्दै सरकारको उक्त निर्णयको तीव्र विरोध समेत गरेको छ ।यो खबर मुलबाटो डटकममा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like