स्थानीय तहमा शैक्षिक गतिविधि सञ्चालन, अब यसरी विद्यालय चल्ने


१४ मङ्सिर २०७७ काठमाडौं । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुने भएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गर्ने भएका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज हुने बताएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा पनि त्यस्तै प्रकारको हुने बताएका छन् । सुवेदीले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना सम्बोधन हुने र उनीहरु कुलतमा फस्ने सम्भावनाबाट जोगिने भनेका छन्।

लमजुङको मस्र्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको माापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको जानकारी दिए । उनले विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने पनि बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्त भएकाले उनीहरुसँग परामर्श लिइ सहयोग लिने वातावरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्ने बताए । उनले विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्न र विद्यालयमा क्वारेन्टिन वा अस्पताल नराख्न पनि आग्रह गरे ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले आपत्कालीन अवस्थामा विद्यालय बन्द हुन सक्ने भए पनि शिक्षा निरन्तर चल्नुपर्ने भएकाले नयाँ कार्यविधिले विद्यालय सञ्चालनका लागि सहजता दिएको औँल्याएका छन् ।

भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंले वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा स्थानीय तहले लगानी गर्नुपर्ने बताए । शिक्षा पत्रकार समाजका प्रदेश नं २ का संयोजक सुरेश यादवले नयाँ कार्यढाँचा आएपछि विद्यालय सञ्चालनका लागि स्थानीय तह सक्रिय भएको र बन्दाबन्दीका समयमा पनि आसमान नेपाललगायतका संस्थाले समुदायस्तरमा स्वयंसेवक परिचालन गरी पढाइ सञ्चालन गरेको अनुभव सुनाएको खबर राससमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like