विश्वकै लामो नृत्य “कार्तिक नाँच “कोरोनाले प्रभावित


१४ मङ्सिर २०७७ काठमाडौं । हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको नृसिंह अवतार‘कार्तिक नृत्य’शनिबार सकिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार र शनिबार दुई दिन मात्र प्रदर्शन गरिएको हो ।

इतिहासमा उल्लेख भए अनुसार जाडोमा कहर खप्ने र गर्मीमा अग्नि तपस्या गर्ने पाटनका राजा सिद्धिनरसिंह मल्लले कार्तिक नृत्य सुरु गरेको मानिन्छ ।उनले वि.सं. १६९७ देखि देश र जनताको कल्याणार्थ सो नृत्य चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरु बताउँछन् । राजा श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो ।

ती विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुसि छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामूर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका छन्।

विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बताए । शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो । सो नाच संरक्षणका लागि यस वर्षदेखि अक्षयकोष स्थापना गरिने भएको छ । शनिबार नृत्यकला हेर्न इच्छुक व्यक्तिले विद्युतीय प्रत्यक्ष प्रसारणको सहायता लिए । सो नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।
यस वर्षको कार्तिक नाच देखाउन लामो समय तालिम दिनु नपरेकाले आर्थिक समस्या नभएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “यस पटक हामीले १८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने हुँदा ती बाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारको रुपमा छनोट गर्यौं ।”

गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकारका साथै पाटन दरबार परिसरभर नाच हेर्ने मानिसको भीड हुने गरेको शर्माले स्मरण गरे । कोरोना कहरले यसपालि घरबाटै भए पनि हेरेर आनन्द लिन पाएकामा निकै खुशी लागिरहेको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए । कार्तिक नृत्य कृष्ण मन्दिर दरबार परिसरमा हरेक वर्ष देखाउने गरिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like