२२ दलले गरे सरकार विरुद्ध प्रदर्शन


८ मङ्सिर २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राष्ट्रघात र जनघातका विरुद्ध आइतबार २२ वटा राजनीतिक संगठनहरुले संयुक्त रुपमा देशैभर विरोध प्रदर्शन गरेका छन् । सरकार इतर २२ राजनीतिक संगठनले सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेका हुन् । ।
२२ दलले आइतबार काठमाडौंको माइतीघर मन्डला, पोखराको पृथीचोक, रुपन्देहीको बुटबल, दाङको तुलसीपुर, सुर्खेतको मंगलगढी चोक, कैलालीको धनगढी, उदयपुरको गाईघाट लगायतका स्थानमा नारा जुलससहित विरोध प्रदर्शन गरेका छन् ।

हाम्रा न्युजकिरण संवाददाताका अनुसार प्रदर्शनकारीले काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध विभिन्न नाराबाजी सहित भाषण गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परिथापाले सरकारले जनविरोधी काम गरेको बताएका छन्। थापाले खुला मञ्चका जनतालाई माइतीघर वा थापाथली सारेर गरीबि तथा माग्नेहरुको समस्या समाधान नहुने बताए ।उनले थपे; बसन्तपुर दरबार वरपर नै माग्नेहरु भेटिन्छन् । सरकार राष्ट्रघाती र जनविरोधी रहेको समेत उनले भन्न भ्याए ।

लामो समयदेखि सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २२ राजनीतिक संगठनको कार्यगत एकताको २७ कात्तिकको बैठकले मंसिर ७ गते काठमाडौं लगायत सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले २८ कात्तिकमा एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरेका थिए ।
वक्तव्यमा अमेरिकी संस्था एम.सी.सी.सँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको उल्लेख गरिएको थियो ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like