कुकुर पुजापछि लक्ष्मी पुजा हुने


२९ कार्तिक २०७७ काठमाडौं । यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीमा पर्ने यो पर्व साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी घरघरमा मनाइँदै छ । सफासुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यतासाथ बिहानै घर सरसफाइ गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्ने प्रचलन छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी गरे पनि त्यो शास्त्रीय मान्यता विपरीत रहेको समितिका सदस्य कीर्तिमदन जोशीले बताए । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।

तस्बीर/बाबुराम भट्टराईको फेसबुकबाट
कुकुर तिहार पनि आजै

यसपालि कुकुर तिहार पनि आज शनिबार नै मनाइँदै छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । त्यसैले आज बिहानै कुकुरलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाइएको छ । साँझ भने लक्ष्मी पुजा गरिंदै छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like