तिहार सुरु, आज काग तिहार,कागको पुजा गरिंदै


२८ कार्तिक २०७७ काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं सकिएसँगै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाड तिहार शुक्रबार बाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्व शुक्रबार कागको पुजा गर्दै सुरु भएको हो । कागलाई यमराजको सन्देश बाहकका रुपमा मानिन्छ ।प्रौराणिक कथन अनुसार यमलोकका राजा यमराजले पृथ्वीलोकमा मनुष्यहरु बेस्सरी मर्नथालेपछि मनुष्यका लगि अजम्बरी बुटी कागदूतमार्फत दिएर पठाएका थिए । कागदूतले सो बुटी मनुष्यलाई नदिइ आफै प्रयोग गरेर चतुरगुण सन्देश प्रवाहक पंक्षी कहलिएको थियो ।त्यही भएर अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा कागलाई लिइन्छ । यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका भन्ने प्रौराणिक कथन पाइन्छ ।

कागपुजाको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । यमदीप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।प्रौराणिक कथन अनुसार मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरूमाफर्त दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग छ । दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दूबोको माला लगाइदिई पूजा गर्दै भाइटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाइटीका लगाएपछि तिहारको विधिवत अन्त्य हुन्छ ।

काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना पनि गरिन्छ ।काग र कोइलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामी सबैले सुनिआएको छौं । कोइलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोइलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यस अर्थमा चर्को स्वरमा नमिठोसँग कराउने कालो काग नै सुरिलो स्वर भएका हरेक कुहू कुहू गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थ अभिभावक हो, काग र कोइलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरूको उदाहरण दिएको छ । त्यसैले नेपालीहरुको विशेष पर्व यमपञ्चक अर्थात् तिहारलाई काग पुजाबाट सुरु भएको मानिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like