नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला २ महिनामै हटाइए, नयाँ निमित्तमा शाक्य


२४ कार्तिक २०७७ काठमाडौं ।नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई हटाएर निमित्त कार्यकारी निर्देशक जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक र शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकेका छन् । मन्त्री वर्षामान पुन प्राधिकरण सञ्चालक समितिका समेत अध्यक्ष हुन्।

निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका शाक्यले सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो पदबहाली गरेका छन् । उनी तिन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा खर्च हुने पैसा विदेशिनबाट रोक्ने ध्येयका साथ उक्त कम्पनी स्थापना गरेको बताइएको छ ।

गत भदौ २९ गते कुलमान घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । कोइराला २ महिना निमित्त बने । निमित्त कार्यकारी निर्देशक शाक्यले तत्कालका लागि बत्तीको पर्वसमेत मानिएको तिहारमा विद्युत् पुगेका सबै नेपालीका घरमा सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन आफू र आफ्नो टोली लागिपर्ने राससलाई जानकारी दिएका छन् । दिनमा ३,४ घन्टा भइरहेको लोडसेडिङ्को तिहार सम्म अन्त्य गर्ने र केही समयपछि मात्र अन्य लोडसेडिङ बारे भन्न सकिने उनले राससलाई बताएका हुन्।पछिल्ला दिनमा देखिएका प्राधिकरणका केही समस्या समाधानका लागि समेत आफू लागिपर्ने र त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताए।शाक्य प्रधानमन्त्रीका नातेदार सालोसमेत रहेको प्राधिकरणस्रोतबाट जानकारीमा आएको छ।

newskiran.com

newskiran.com

You May Also Like