१२ कार्तिक २०७७ काठमाडौं ।नेपालीहरूकाे महान चाड बडा दशैँको तेस्रो दिन बुधबार मान्यजनको हातबाट टीका ग्रहण गर्ने कार्य जारी रहेको छ । परिवारजन तथा आफन्तजनसँग आशिर्वाद लेनदेनका गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने गर्दछ। घटस्थापनाबाट विधिपूर्वक दशैँघरमा टीका तथा जमरा स्थापना गरेर सोही जमरा टीकासँगै र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा नेपाली समाजमा रहेको छ।ठूलाबडाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने प्रचलन रहेको छ। दशैँको टीका पछि आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ ।
टीकाको पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै दशैँको टीका चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दशैँलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको चाडको रुपमा लिने गरिन्छ । नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ । यसपालि धानबालीको सिजन भएकाले दशैँको टीका ग्रहणपछि प्राय: आफ्ना खेतबारीमा धान काट्न व्यस्त रहेका देखिन्छन् ।