१८ असोज २०७७ काठमाडौं ।कृषि विषयलाई आधार बनाएर निर्माण गरिएको लघुचलचित्र “किसान” कृषि पोस्ट डट कम अनलाइन न्युज पोर्टलको आधिकारिक युट्युब च्यानल एग्रो टिभीमा पहिलो पटक सार्वजनिक भएको छ । लघुचलचित्रका रुपमा हेरिएको यस चलचित्रमा कोरोना भाइरसका कारण विश्वको पर्यावरण बिग्रिएको परिवेशमा नेपालको आर्थिक तथा सामाजिक विकासमा पनि त्यसको असर परेको देखाइएको छ । शिक्षित भएपछि कृषि कर्म गर्न नहुने र सहरमा गइ ऋणमा डुबेर बस्न बाध्य परिवेशको आकृति चलचित्रमा छ ।त्यस्तै त्यस्तै पात्रले आफ्नो गाउँ फर्केर भैंसी पालन गरेर पैसा कमाएको परिदृश्य आम गरिब तथा निम्न वर्गीय किसानहरूको वास्तविकतालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । साहु र मालिकको ऋणले पीडित भइरहेको बेला पनि कसैको सहयोग र सल्लाह मिलेमा मनग्गे आयअर्जन गर्न सकिन्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।यो लघु चलचित्र लाई पशुपालन तथा दुग्ध व्यवसायको पकेट क्षेत्र मानिएको कोन्ज्योसोम गाउँपालिकाको संखुमा छायांकन गरिएको निर्देशकले बताए ।
यस लघुचलचित्रमा लामो समयदेखि शिक्षण तथा पत्रकारिता पेसामा आबद्ध नवराज चौलागाईं क्षितिज र मोडल अर्जुन खनाललाई मुख्य तथा गणेश कंडेल ,नन्दमाई चौलागाईं , माधव चौलागाईं , श्यामकृश्न चौलागाईं , सुनिता चौलागाईं र स्वीकृति चौलागाईंलाई अन्य भूमिकामा देख्न सकिन्छ । अर्जुन खनालले तयार पारेको कथा तथा पटकथालाई गणेश कंडेलले छायांकन/निर्देशन र नवराज चौलागाईंले निर्माण गरेका हुन् । एउटै परिवारका चार पुस्ताले संगै मिलेर अभिनय गरेको सम्भवत: यो नेपालकै पहिलो लघु चलचित्र हुन सक्ने अनुमान निर्माण पक्षको रहेको छ ।