मजदुरलाई २ लाख राहत देउ : ट्रेड युनियन महासंघ


२६ भदौ २०७७ काठमाडौं ।नेपाली श्रमिक वर्गको पेशागत हक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका क्रियाशील ७ ट्रेड युनियन महासंघले काठमाडौको माइतीघर मण्डलामा विहिबार विरोध सभा गरेका छन् । विरोध सभालाई सम्बोधन गर्दै समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष लाल ध्वज नेम्वाङले ६ महिनासम्म श्रमिक मजदुरहरुलाई लकडाउनले असर पारेकाले २ लाखका दरले उनीहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । कोरोनाको त्रास देखाई सरकारले ६ महिना देखि निरन्तर जारी राखेको लकडाउन र निषेधाज्ञाको कारण नेपाली श्रमबजारमा क्रीयाशील उत्पीडित मजदुर र विपन्न समुदायको जीवन संकटपू र्ण अवस्थामा पुगेको, मजदुरहरुको व्यापक रोजगारी कटौती गरिएको, तलब सुविधा कटौती गरिएको, विभिन्न मजदुर विरोधी सम्झौताले मजदुरहरुको हक अधिकारलाई कमजोर बनाएको, वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरहरुको स्वदेश आउने प्रक्रिया अनिश्चित भएको भन्दै विरोध सभामा राज्यको विशेष ध्यानाकर्षण र खबरदारी भएको छ ।

विरोध सभामा मजदुर लड्ने को सँग रोग सँग कि भोक सँग भन्दै राज्यले अनिश्चित लकडाउनको अन्त्य गरि उत्पीडित मजदुर वर्गलाई गरिखान दिनु पर्ने, मजदुरहरुको रोटी, रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने, मजदुर विरोधी ऐन तथा सम्झौता खारेज गर्नु पर्ने, मजदुरलाई तत्काल खान पुग्ने गरि नगद राहत उपलब्ध गराउनु पर्ने,वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरलाई हवाई भाडा, स्वास्थ्य परिक्षण लगायत निशुल्क गरि अविलम्ब स्वदेश आउने वातावरण बनाउनु पर्ने सहितका मागहरु राखेर नारा जुलुस गरिएको थियो ।अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले सञ्चालन गरेको विरोध प्रदर्शन तथा संयुक्त मजदुर सभालाई समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लाल ध्वज नेम्वाङ, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गीरि, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिना र नेपाल ट्रेड युनियन फेडेरेसनका उपाध्यक्ष नारायण थापाले सम्बोधन गरेका थिए ।

गत श्रावण १६ गते पनि ६ ट्रेड युनियन महासंघले संयुक्त रुपमा मजदुरको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको विरुद्ध काठमाडौमा सशक्त विरोध प्रदर्शन र विरोध सभा गरेका थिए। ७ ट्रेड युनियन महासंघमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ, नेकपा(माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोन्ट), माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन, नेकपा निकट अखिल नेपाल ट्रेड युनियन र स्वतन्त्र ट्रेड युनियन महासंघ आवद्ध रहँदै आएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like